राजविराज, १६ पुस । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकालाई बुधबार औपचारिक रूपमा बालविवाह मुक्त गाउँपालिका घोषणा गरिएको छ। बालविवाह न्यूनीकरण गर्दै समाजलाई स्वस्थ र सुरक्षित बनाउने उद्देश्यसहित विशेष समारोहका बीच गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गरिएको हो।

घोषणा समारोहमा गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलले घोषणापत्र वाचन गर्दै तिलाठी कोईलाडीलाई बालविवाह मुक्त गाउँपालिका घोषणा गरे। कार्यक्रममा बोल्ने वक्ताहरूले बाल अधिकार सुनिश्चित गर्न बालविवाह अन्त्य अपरिहार्य रहेको उल्लेख गरे। उनीहरूले यस घोषणाले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्दै बालबालिकालाई शिक्षामा प्रोत्साहन, समुदायमा सचेतना अभिवृद्धि र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रममा प्रेस जनमत संघका केन्द्रीय अध्यक्ष अवधेश झा, नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार बैधनाथ यादव, सेभ द चिल्ड्रेनका प्रतिनिधि मकरबहादुर सार्की तथा बालकल्याण अधिकारी शैलेन्द्र सिंहले शुभकामना मन्तव्य व्यक्त गरे।

गाउँपालिका अध्यक्ष मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार कर्णले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम सञ्चालन दीपककुमार मण्डलले गरेका थिए।

समारोहमार्फत बालविवाह विरुद्ध सामुदायिक प्रतिबद्धता सार्वजनिक गरिएको थियो। साथै विद्यालय, अभिभावक, महिला समूह र युवा समूहले बालविवाह हुन नदिन सक्रिय भूमिका निर्वाह गर्ने संकल्प व्यक्त गरेका छन्।

कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षाकर्मी, विभिन्न संघसंस्था, विद्यालयका शिक्षक, अभिभावक तथा समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर