काठमाडौँ। उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि गायिका तथा चिकित्सक त्रिशला गुरुङलाई समानुपातिक उम्मेदवारको रूपमा सिफारिस गरेको छ। पार्टीले स्वास्थ्य क्षेत्र सुधार, समावेशी राजनीतिक दृष्टिकोण र पेशागत दक्षतालाई आधार मानेर उनलाई उम्मेदवारको सूचीमा समेटेको जनाएको छ।
पार्टी नेतृत्वका अनुसार गुरुङको चिकित्सकीय अनुभव र नीतिगत बुझाइले संसदमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जटिल विषयहरूमा व्यवहारिक बहस अघि बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ। विशेषगरी ग्रामीण क्षेत्रमा स्वास्थ्य जनशक्तिको अभाव, उपचार खर्चको बढ्दो बोझ र बजेट कार्यान्वयनको प्रभावकारिताजस्ता मुद्दामा उनले सार्थक भूमिका खेल्ने अपेक्षा पार्टीको छ।

सिफारिसपछि प्रतिक्रिया दिँदै गुरुङले स्वास्थ्य सेवालाई नागरिकको मौलिक अधिकारका रूपमा स्थापित गरिनुपर्नेमा जोड दिइन्। उनले सुशासन, समावेशी नीति निर्माण र उत्तरदायी स्वास्थ्य प्रणालीका लागि संसदमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
सांगीतिक क्षेत्रमा पनि सक्रिय गुरुङ विभिन्न कभर गीतमार्फत लोकप्रिय छिन्। ‘सपना भई आँखामा आउने’, ‘प्रितीको फूल’, ‘उकाली चढौला’, ‘पोहोर साल’ र ‘तिमीले त होइन्’ जस्ता गीतमार्फत उनी श्रोता–दर्शकमाझ परिचित बनेकी हुन्। यसका अतिरिक्त ‘जूनको साथी तारा’, ‘न बिर्सी दिनु’, ‘कसैले नछोएको’ र ‘सजाउ माया’ लगायत दर्जनभन्दा बढी गीतमा उनले स्वर दिइसकेकी छन्।
राजनीतिमा नयाँ अनुहारका रूपमा प्रवेश गर्न लागेकी गुरुङको उम्मेदवारीले स्वास्थ्य र सांस्कृतिक क्षेत्रको अनुभवलाई संसदसँग जोड्ने प्रयासका रूपमा हेरिएको छ। पार्टीले पेशागत अनुभव बोकेका व्यक्तिलाई राजनीतिमा अघि सार्ने रणनीतिअनुसार उनलाई सिफारिस गरिएको जनाएको छ।






