काठमाडौँ,१४ पुस। जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनासम्बन्धी छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगमा पूर्व गृहमन्त्री रमेश लेखक सोमबार उपस्थित भएका छन्। मध्याह्नतिर उनी सिंहदरबारस्थित आयोगको कार्यालयमा पुगेर बयान दिएका हुन्।

आयोगका पदाधिकारीका अनुसार गत साता लेखकलाई औपचारिक रूपमा बयानका लागि उपस्थित हुन पत्राचार गरिएको थियो। सोही अनुरूप उनी आयोगमा उपस्थित भई आन्दोलनका बेला गृह मन्त्रालयले लिएका निर्णय, सुरक्षा व्यवस्थापन र घटनाक्रमबारे आफ्ना धारणा राखेका हुन्।

जेनजी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा भएका झडप र दमनमा ७६ जनाले ज्यान गुमाएको तथ्य आयोगको प्रारम्भिक विवरणमा उल्लेख छ। सो समय रमेश लेखक गृह मन्त्रालयको नेतृत्वमा थिए भने तत्कालीन प्रधानमन्त्रीका रूपमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सरकारको प्रमुख थिए।

आन्दोलनका क्रममा सुरक्षा निकायको परिचालन, आदेश–निर्देशनको शृंखला र राजनीतिक तहमा भएका निर्णयबारे आयोगले गहिरो अध्ययन गरिरहेको जनाएको छ। आयोग स्रोतका अनुसार घटनाको सम्पूर्ण जिम्मेवारी र निर्णय प्रक्रिया स्पष्ट गर्न पूर्व गृहमन्त्रीसँग विस्तृत प्रश्नोत्तर गरिएको छ।

यसैबीच आयोगले तत्कालीन प्रधानमन्त्री ओलीसँग पनि बयान लिने तयारी गरिरहेको जनाएको छ। आयोगका सदस्यहरूका अनुसार आन्दोलनको राजनीतिक व्यवस्थापन, मन्त्रिपरिषद् तहबाट भएका निर्णय र सुरक्षा संयन्त्रलाई दिइएका निर्देशनबारे स्पष्टता आवश्यक रहेकाले प्रधानमन्त्रीस्तरको बयान महत्वपूर्ण हुने ठहर गरिएको हो।

जाँचबुझ आयोगले जेनजी आन्दोलनका घटनालाई गम्भीर मानवअधिकार र राज्यको उत्तरदायित्वसँग जोडिएको विषयका रूपमा लिँदै आएको छ। आयोगले पीडित परिवार, सुरक्षाकर्मी, प्रशासनिक अधिकारी र राजनीतिक नेतृत्व सबै पक्षसँग बयान लिएर निष्कर्षमा पुग्ने तयारी गरिरहेको छ।

आयोगको कार्यकालभित्रै प्रतिवेदन सार्वजनिक गर्ने लक्ष्य राखिएको छ। प्रतिवेदनमा घटनाको वास्तविकता, दोषी ठहरिने पक्ष र भावी दिनमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने सुधारात्मक उपायसमेत समेटिने आयोगले जनाएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर