जनकपुरधाम, १४ पुस — मधेश केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच औपचारिक एकीकरण गर्ने निर्णय भएको छ। दुवै पार्टीका अध्यक्षहरूले सहमति पत्रमा हस्ताक्षर गरेसँगै मधेश राजनीतिमा पुनः एकताको नयाँ अध्याय सुरु भएको छ।

काठमाडौंमा बसेको जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरसहित दुवै दलका शीर्ष पदाधिकारीहरूको संयुक्त बैठकले एकीकरणको निर्णय गरेको हो। वर्तमान राजनीतिक परिस्थितिको गम्भीर मूल्यांकन र विश्लेषणपछि एकता अपरिहार्य ठहर गर्दै यो निर्णय लिइएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

सहमति अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता र सामाजिक न्यायजस्ता मुद्दालाई सशक्त बनाउने लक्ष्य राखिएको छ। मधेशका ऐतिहासिक मुद्दाहरूलाई साझा रूपमा अगाडि बढाउँदै न्यायपूर्ण समाज निर्माण गर्ने प्रतिबद्धतासहित एकीकरण गरिएको जनाइएको छ।

यसअघि १० वैशाख २०७७ मा तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर जसपा बनेको थियो। तर एकीकरणको डेढ वर्ष नपुग्दै २०७८ भदौ दोस्रो साता पार्टी विभाजन भई महन्थ ठाकुरको नेतृत्वमा लोसपा गठन भएको थियो।

२०६३ सालपछि उपेन्द्र यादव र महन्थ ठाकुर मधेश आन्दोलन र राजनीतिका प्रमुख शक्तिका रूपमा उदाएका नेताहरू हुन्। पछिल्लो एकीकरणसँगै मधेश केन्द्रित राजनीति फेरि संगठित हुने संकेत देखिएको विश्लेषकहरूको बुझाइ छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर