राजविराज, १३ पुस । प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले महुली सामुदायिक विकास केन्द्रले विपद् जोखिम न्यूनीकरण, सामाजिक, शैक्षिक तथा पर्यावरणीय क्षेत्रमा पुर्याएको योगदान प्रशंसनीय र अनुकरणीय रहेको बताएका छन्। राष्ट्रिय दिगो विकास लक्ष्यलाई प्राथमिकतामा राखेर गरिएका गतिविधिले स्थानीय तथा संघीय सरकारका प्रयासलाई समेत महत्वपूर्ण सहयोग पुगेको उनको भनाइ छ।
आइतबार महुली सामुदायिक विकास केन्द्र बकधुवाको ३१औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रजिअ पोखरेलले बहुआयामिक विकासको लक्ष्यसहित संस्थाले अघि सारेका कार्यक्रमहरू थप प्रभावकारी बन्दै विपन्न वर्गप्रति समर्पित हुनुपर्नेमा जोड दिए। “समुदायमै आधारित भएर गरिएका यस्ता कामले दिगो विकासको आधार तयार गर्छन्,” उनले भने।

कार्यक्रममा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकालले महुली सामुदायिक विकास केन्द्रले नगरपालिकाभित्रका विपन्न समुदायका लागि गरेको सहयोग अविस्मरणीय रहेको बताए। आवासविहीनका लागि आवास निर्माण, सरसफाइ, शिक्षा र स्वास्थ्य क्षेत्रमा संस्थाको योगदान उल्लेखनीय रहेको उनको भनाइ थियो।
साधारणसभामा संस्थाका कार्यकारी सचिव तथा निर्देशक प्रभुनारायण चौधरीले आर्थिक वर्ष २०८२/०८३ का लागि ७ करोड ८८ लाख ६६ हजार ९ सय ९४ रुपैयाँको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरे। सह–निर्देशक चन्द्रनारायण चौधरीले गत आर्थिक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै खानेपानी, सरसफाइ र वातावरणीय जोखिम न्यूनीकरणका साथै जिल्लाभर आठ हजारभन्दा बढी सुरक्षित आवास निर्माण गरी समुदायलाई हस्तान्तरण गरिएको जानकारी दिए।
उक्त अवसरमा प्रमुख अतिथि पोखरेलसहित संस्थाका पूर्व अध्यक्ष, पदाधिकारी र सदस्यहरूलाई सम्मान गरिएको थियो।






