काठमाडौं,१३ पुस। गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा सुरक्षा निकायबाट लुटिएका हतियारमध्ये ७३३ थान हतियार फिर्ता भएको गृह मन्त्रालयले जनाएको छ। २३ र २४ भदौमा राजधानीसहित विभिन्न स्थानमा भएको आन्दोलनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीका हतियार लुटपाट भएका थिए।

गृह मन्त्रालयका अनुसार आन्दोलनको समयमा नेपाल प्रहरीका मात्रै १ हजार २७१ थान हतियार लुटिएका थिए भने सशस्त्र प्रहरीका समेत गरी कुल लुटिएका हतियारको संख्या करिब १३ सयको हाराहारीमा पुगेको थियो। तीमध्ये हालसम्म ७३३ थान हतियार सुरक्षा निकायको नियन्त्रणमा फर्किसकेका छन्। अझै करिब साढे पाँच सय हतियार भने फिर्ता हुन बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ।

सुरक्षा निकायको प्रारम्भिक विश्लेषणअनुसार फेला नपरेका हतियारमध्ये केही प्रदर्शनकारीले खोलानाला, झाडी वा सुनसान स्थानमा फालिसकेको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि केही हतियार आपराधिक पृष्ठभूमिका व्यक्तिले लुकाएर राखेको सम्भावनालाई पनि नकारिएको छैन।

गृह मन्त्रालयमा आयोजित ब्रिफिङका क्रममा एक सुरक्षा प्रमुखले धेरै हतियार फिर्ता भइसके पनि बाँकी हतियारको खोजी चुनौतीपूर्ण बनेको बताएका छन्। उनका अनुसार विशेष रणनीति बनाएर खोजी कार्य अघि बढाइएको छ।

प्रहरीले लुटिएका हतियारको खोजतलासका क्रममा ती घटनासँग प्रत्यक्ष सम्बन्ध नराख्ने थप ३२ थान हतियारसमेत विभिन्न स्थानबाट बरामद गरेको जनाएको छ। हतियार फिर्ता नहुन्जेल खोजी र अनुसन्धानलाई निरन्तरता दिइने गृह मन्त्रालयको भनाइ छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर