राजविराज, ०९ पुस । सप्तरीमा लागूऔषध ओसारपसारविरुद्धको निगरानीका क्रममा प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गरेको छ। भारततर्फ लैजाँदै गरिएको गाँजासहित एक युवक पक्राउ परेका छन्।
बुधबार छिन्नमस्ता गाउँपालिका–४ लालपट्टी क्षेत्रमा चेकजाँचका क्रममा राजविराज नगरपालिका–११ निवासी २९ वर्षीय रामकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनी सवार को १ च ९६६५ नम्बरको पिकअप गाडीबाट प्लास्टिकमा प्याक गरिएका ३२ वटा पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक र इलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरी नायब निरीक्षकको नेतृत्वमा संयुक्त गस्ती टोली परिचालन गरिएको थियो। चेकजाँचका क्रममा गाँजासहितको पिकअप गाडी नियन्त्रणमा लिइएको हो।
बरामद गरिएको गाँजाको कुल तौल प्लास्टिकसहित ८ क्युन्टल ५१ किलो रहेको र प्लास्टिक हटाउँदा शुद्ध तौल ८ क्युन्टल ३२ किलो रहेको सप्तरी प्रहरीका प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिए।
गाँजासहित पिकअप गाडी र चालक यादवलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा राखिएको छ। लागूऔषध कसुर सम्बन्धी मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।






