जनकपुरधाम ,२९ मंसिर। मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ। सातदलीय गठबन्धनको सहमतिपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा दुई जना नयाँ मन्त्री नियुक्त भएसँगै प्रदेश सरकारले पूर्णता लिने दिशामा कदम अघि बढाएको छ।
लोसपाबाट रानीकुमारी तिवारी शिक्षा तथा संस्कृति मन्त्री र माओवादी केन्द्रबाट जवाहरलाल कुश्वाहा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री बनेका छन्। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट दुवै मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

यसअघि २१ मंसिरमा बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका कांग्रेसका जंगीलाल रायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ भने नेकपा (एकीकृत समाजवादी) का कनिष पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको कार्यभार तोकिएको छ। जनमत पार्टीका महेशप्रसाद यादवले भने यसअघि नै अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्।
मन्त्रिपरिषद् विस्तारसँगै मधेश प्रदेश सरकार छ सदस्यीय बनेको छ। हाल सरकारमा कांग्रेसका मुख्यमन्त्रीसहित एक मन्त्री, नेकपा एस, जनमत पार्टी, लोसपा र माओवादी केन्द्रका एक–एक जना मन्त्री सहभागी छन्। जनता समाजवादी पार्टी (जसपा) भने अहिलेसम्म सरकारमा सहभागी भएको छैन।
गत मंसिर १९ गते सातदलीय गठबन्धनको समर्थनमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री यादवले आगामी पुस ४ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।







