राजविराज, २७ मंसिर । सप्तरीमा ज्योति विकास बैंकले कमिसनको लोभमा करोडौँ रुपैयाँ मूल्य बराबरको जग्गा हडप्ने प्रयास गरेको आरोप लघुवित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समिति सप्तरीले लगाएको छ। शनिबार महुलीमा आयोजित पत्रकार सम्मेलनमार्फत संघर्ष समितिले ज्योति विकास बैंक रुपनी शाखाले नियोजित रूपमा जग्गा लिलामी प्रक्रियामा चढाएर पीडितलाई आर्थिक तथा मानसिक शोषण गरेको दाबी गरेको हो।
संघर्ष समितिका पदाधिकारीका अनुसार बैंकले ठूलो मूल्यको जग्गा न्यून दरमा लिलाम गर्न लागेको सूचना पाएपछि त्यसविरुद्ध आवाज उठाउँदा जग्गाधनी तथा उनीहरूका परिवारजनमाथि झुठा उजुरी दर्ता गराइएको छ। समितिका सदस्य युवराज रंतेलीले सरकारसँग भएको सम्झौता विपरीत बैंकले अनावश्यक दुःख दिएको भन्दै आक्रोश व्यक्त गरे। करोडौँको सम्पत्ति जफत गर्ने प्रयास भएपछि आफूहरू प्रतिकारमा उत्रिन बाध्य भएको उनको भनाइ थियो।

पीडित पक्षका अनुसार सप्तकोसी नगरपालिका–७ ओद्राहास्थित सप्तकोसी इन्टिग्रेटेड एग्रो फार्मको नाममा रहेको विभिन्न स्थानको जग्गा बैंकले लिलामी प्रक्रियामा चढाएको छ। यसमा सप्तकोसी नगरपालिका–७ को ६ कठ्ठा, कञ्चनरूप नगरपालिका–१२ रूपान्तरको १६ कठ्ठा १८ धुर तथा अग्नीसाइर कृष्णासवरण गाउँपालिकास्थित जग्गासमेत गरी करिब ११ करोड रुपैयाँ मूल्य बराबरको सम्पत्ति रहेको बताइएको छ। बैंकले कमिसन लिएर उक्त जग्गा १–२ करोडमै लिलाम गर्न खोजिएको आरोप समितिले लगाएको छ।
संघर्ष समितिले आफूहरू सक्रिय भएपछि कम्पनीका साझेदार तथा घरपरिवारका सदस्यविरुद्ध अपहरण, शरीर बन्धक, कुटपिट र लुटपाटजस्ता झुठा मुद्दा प्रहरीमा दर्ता गराइएको दाबी गरेको छ। बैंकले गरेको व्यवहार तत्काल नसच्याइए शान्तिपूर्ण आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी समितिले दिएको छ।
पीडितका अनुसार कम्पनीले ज्योति विकास बैंकमा जग्गा धितो राखी ६ करोड रुपैयाँ ऋण लिएको थियो र नियमित किस्ता बुझाउँदै आएको थियो। पछिल्लो एक वर्षदेखि आर्थिक समस्या देखिएपछि किस्ता बुझाउन नसक्दा ११ करोड मूल्यको जग्गा अत्यन्त न्यून दरमा लिलाम गर्न दबाब दिइएको र त्यसलाई सामाजिक सञ्जालमार्फत सामान्य प्रक्रिया झैँ प्रचार गरिएको भन्दै समितिले आपत्ति जनाएको छ।
संघर्ष समितिले पीडितमाथि लगाइएका सबै झुठा उजुरी फिर्ता लिन माग गर्दै न्यायका लागि पहल गरिदिन स्थानीय प्रशासन, पत्रकार तथा सरोकारवाला निकायलाई आग्रह गरेको छ। कम्पनीले २०७८ सालमा बैंकबाट ऋण लिएको र २०८१ चैत २८ गते अन्तिम किस्ता बुझाएपछि थप किस्ता बुझाउने प्रक्रियामा रहँदा बैंकले ज्याजती गरेको पीडितहरूको गुनासो छ।
पत्रकार सम्मेलनमा संघर्ष समितिका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका पदाधिकारीसहित लघुवित्त पीडितहरूको उपस्थिति रहेको थियो। यस विषयमा ज्योति विकास बैंकका सम्बन्धित कर्मचारीसँग पटक–पटक सम्पर्क गर्न खोज्दा प्रतिक्रिया प्राप्त हुन नसकेको संघर्ष समितिले जनाएको छ।






