राजविराज, २६ मंसिर — जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय सदस्य रहिसकेका विकास तिवारी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश गरेका छन्। शुक्रबार राजविराजमा गरिएको कार्यक्रममा तिवारीलाई औपचारिक रूपमा स्वागत गरिएको हो।
पार्टी प्रवेश समारोहमा राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले तिवारीलाई अविर लगाई स्वागत गरेका थिए। स्वागत कार्यक्रमबारे जानकारी दिँदै जिल्ला अध्यक्ष दिपेन्द्र चौधरीले तिवारीको प्रवेशले पार्टी मधेश क्षेत्रमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेका हुन्।

तिवारीले मंसिर २५ गते सामाजिक सञ्जालमार्फत जसपा नेपालको केन्द्रिय सदस्य पद र सदस्यता त्यागेको घोषणा गरेका थिए। विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय तिवारी स्वर्गीय गजेन्द्र नारायण सिंहको नेतृत्वमा रहेको नेपाल सद्भावना पार्टीमार्फत मधेश राजनीतिको यात्रा प्रारम्भ गरेका थिए। जसपाबाट बाहिरिएपछि उनले महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीलाई आफ्नो नयाँ राजनीतिक थलो बनाएका छन्।






