काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना हाइ प्रोफाइल व्यक्तिलाई धम्की दिने समूहका ‘नाइके’ नेपाल बाहिर रहेको थाहा भएको छ । प्रहरीले गरेको अनुसन्धानबाट काभ्रे घर भएका प्रकाश पाठक इन्डोनेसियामा रहेको पाइएको छ ।
आफूलाई उग्रवादी संगठनको अध्यक्ष बताउने पाठकले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर १० जना हाइप्रोफाइललाई ‘सफाया’ गर्ने धम्की दिएका थिए । उनले लोकमानसिंह कार्की, गोपालबहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिएका थिए ।

उनले इन्डोनेसियामा बसेर हाइ प्रोफाइललाई धम्की दिएको अनुसन्धानबाट थाहा भएको प्रहरीका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । ‘सामाजिक सञ्जाल मार्फत भिडियो पोस्ट गर्ने युवक इन्डोनेसियमा रहेको खुलेको छ,’ ती अधिकृतले भने ।
मंसिर १७ मा उपत्यका प्रहरी कार्यालयले धम्की दिइएका व्यक्तिहरुको निवास वरपर सुरक्षा निगरानी गर्न सर्कुलर गरेको थियो । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले प्रमुख आयुक्त राई सहित १० जनाको निवासस्थान, भ्रमण मार्ग र कार्यक्रमस्थलमा निगरानी बढाउन सर्कुलर गरेको थियो । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेका छन् ।
प्रकाश पाठकसँग ‘कनेक्सन’मा देखिएका तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताए । ‘तीन जना नियन्त्रणमा हुनुहुन्छ, उहाँहरुलाई हामीले सोधपुछ गरिरहेका छौं,’ उनले भने ।
पक्राउ पर्नेहरुको नाम प्रहरीले औपचारिक रुपमा सार्वजनिक गरेको छैन । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा धादिङ घर भएका शरणजंग शाही, सर्लाही घर भएका तोरण थापा मगर र बर्दिया घर भएका धिरेन्द्र सुनार छन् । उनीहरुलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ ।
उग्रवादी समूह बताउने युवकबारे अनुसन्धान भइरहेको काठमाडौं परिसरका एसएसपी रमेश थापाले बताए । आफूलाई एक्ट्रिमिस्ट ग्रुप अफ नेपालको अध्यक्ष बताउँदै ती युवकले भनेका छन्, ‘अख्तियार प्रमुखलाई खुरुक्क राजीनामा गर्न अनुरोध छ, अन्यथा १० दिनभित्र हामी सक्काइदिन्छौं ।’
ती युवकले आफूलाई प्रहरीले पक्राउ गर्न खोजेको र आफू भारतमा रहेको जिकिर गरेका थिए । तर उनी इन्डोनेसियमा लुकेर धम्की दिइरहेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । पाठकले आइतबार दोस्रो भिडियो सार्वजनिक गरेका छन् ।
हाइ प्रोफाइललाई धम्की दिने प्रकाश पाठक केही सयमअघिदेखि परिवारको सम्पर्कमा नभएको थाहा भएको छ । उनी काभ्रेस्थित घरबाट ‘भारत जान्छु’ भनेर हिँडेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने, ‘डाक्टर पढ्छु भनेर उनी घरबाट हिँडेको देखिन्छ ।‘तर अहिले उनी परिवारको सम्पर्कमा छैनन् ।






