काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रतिवादी बनाउने तयारी नगरेको छ। आयोग स्रोतका अनुसार लेखकसँग प्रत्यक्ष कनेक्शन नदेखिएको र बयान लिनु आवश्यक नपरेको कारण उनीमाथि मुद्दा दायर गरिँदै छैन। लेखक गृहमन्त्री हुँदा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय प्रमुखमा सरुवा भएका सहसचिव तीर्थराज भट्टराईलाई जेठ ७ गते अख्तियारले पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो। यस क्रममा लेखकको सचिवालयका बद्रीप्रसाद तिवारी र जनक भट्टलाई प्रतिवादी बनाउने तयारी गरिएको छ। अनुसन्धानमा खुलिसकेको तथ्य अनुसार उनीहरूले भिजिट भिसामा सेटिङ मिलाएर रकम लिने र मानिस विदेश पठाउने काममा संलग्नता देखाएका थिए। अख्तियार स्रोतका अनुसार, “लेखकको संलग्नता कतै पनि देखिएन। प्रतिवादी बनाउन चाहँदा पनि कनेक्शन नदेखिएको र अनुसन्धानमा तानिएका अन्य प्रतिवादीहरूले पनि उनलाई पोलेर बयान दिएका छैनन्।” यो प्रकरणले राजनीतिक हंगामा पनि सिर्जना गरेको थियो। जेनजी आन्दोलन अघि विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले लेखकलाई अनुसन्धान दायरामा ल्याउन दबाब दिएका थिए। असारमा सरकारले पूर्व मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। तर यी दलहरूले संसदीय छानबिन समिति गठन र लेखकको राजीनामा माग गर्दै आएका थिए। यसै दबाबमा लेखकले भदौ २३ गते जेनजी आन्दोलनको पहिलो दिन राजीनामा दिएका थिए। अख्तियारको अनुसन्धान मुख्यतः तीर्थराज भट्टराईको डायरीमा आधारित रहेको छ। डायरीमा उल्लेख अनुसार उनले कति व्यक्तिलाई भिजिट भिसामा सेटिङ मिलाएर पठाए र कति रकम लिएको भन्ने विवरण रहेको छ। यसै आधारमा भिजिट भिसा प्रकरणमा १२–१५ जनालाई प्रतिवादी बनाउने तयारी अख्तियारले गरेको छ। अख्तियारले सहसचिव भट्टराईलाई पक्राउ गरेपछि, गृह मन्त्रालयले उनलाई विमानस्थलबाट सरुवा गरेको थियो। भट्टराईको मोवाइल, कम्प्युटर र अन्य डिजिटल प्रमाणहरूको फरेन्सिक रिपोर्टमा उल्लेखित विवरणले अनुसन्धानलाई टुंगोमा पुर्‍याएको छ। स्रोतका अनुसार, “अनुसन्धानको मोटामोटी काम समाप्त भइसकेको छ र साताभित्र विशेष अदालतमा अभियोग दायर गरिनेछ।” यस अनुसन्धानपछि आवश्यक कागजात पूरा भएका नेपालीहरू सजिलै विदेश जान पाउने अवस्था बनेको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर