जनकपुरधाम, मंसिर १७ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले दिएको राजीनामा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले स्वीकृत गरेका छन्। मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले दिएको २४ घण्टाभित्र विश्वासको मत लिनुपर्ने आदेशलाई सम्मान गर्दै बुधबार प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका थिए।
प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६९ (१) ‘क’ बमोजिम यादवको राजीनामा स्वीकार गरिएको उल्लेख छ। सोही धारा अनुसार प्रदेशसभामा बहुमतको दाबी गर्न योग्य दल वा सांसदले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था छ।

विज्ञप्तिमा भनिएको छ, “माननीय मुख्यमन्त्री श्री सरोज कुमार यादवद्वारा पेश गरिएको राजीनामा स्वीकार भएको जानकारी गराइन्छ। नेपाल संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई दाबी पेश गर्न आह्वान गरिएको छ।”
नवीन सरकार गठनका लागि दाबी पेश गर्ने समय मंसिर १९ गते शुक्रबार साँझ ५ बजेसम्म तोकिएको छ। अब प्रदेशसभामा रहेका राजनीतिक दलहरूबीच नयाँ सत्ता समीकरणका लागि तीव्र कूटनीतिक तथा राजनीतिक छलफल चल्ने देखिन्छ।
सरोज यादव नेतृत्वको सरकार नियुक्ती भए देखी नै निरन्तर विवादमा थियो। सर्वोच्च अदालतले उनी नियुक्त भएको प्रक्रियालाई असंवैधानिक ठहर गर्दै २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो। आवश्यक संख्या नपुगेपछि उनले पदबाट अलग हुने निर्णय लिएका हुन्।
यादवको राजीनामाले मधेश प्रदेशमा नयाँ शक्ति–सन्तुलन निर्माण गर्ने द्वार खुलेको छ। अब कुन दल वा गठबन्धनले बहुमत जुटाएर सरकार गठन गर्ने भन्ने विषयले प्रदेशको आगामी राजनीतिक दिशा निर्धारण गर्नेछ।






