काठमाडौं । वरिष्ठ सञ्चारकर्मी शिरोमणि दवाडी राष्ट्रिय सिर्जनशील सञ्चारकर्मी सम्मानबाट सम्मानित भएका छन् ।
तीन दशक भन्दा बढी समयदेखि नेपाली सञ्चार क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप ओप्सना फिल्मस् प्रा.लि.ले उक्त सम्मान प्रदान गरेको हो ।

नेपाल चलचित्र विकास वोर्डको सभाहलमा आयोजित दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड समारोहमा दवाडीसहित युवा साहित्यकार भिष्मराज फुलारालाई राष्ट्रिय साहित्य रत्न सम्मान प्रदान गरियो । यस्तै गायक शिव परियारलाई राष्ट्रिय संगीत रत्न सम्मानले सम्मानित गरिएको थियो भने डा.सूर्यबहादुर मगरलाई राष्ट्रिय संगीत व्यवसायी सम्मान,राजेन्द्र बजगाईलाई राष्ट्रिय संगीत एंव कला रत्न सम्मान तथा देवेन्द्र पाण्डेलाई राष्ट्रिय संगीत तथा कला सम्मान प्रदान गरिएको थियो ।
सम्मानित व्यक्तित्वहरुलाई सम्मानित गर्दै वरिष्ठ चलचित्रकर्मी हरिहर शर्माले कलाको सम्मान र प्रतिभा पहिचानले सिर्जनात्मक कार्यलाई प्रोत्साहन मिल्ने बताए । उनले कलाकार राष्ट्रका पहिचान भएकाले सरकारले पनि कला क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।
संस्थाका प्रबन्धक निर्देशक ओमप्रकाश राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट सर्जकहरूलाई दोश्रो ओप्सना फिल्मस अवार्ड २०८२ प्रदान गरिएको थियो ।






