काठमाडौं, ९ मंसिर— लैङ्गिक हिंसा अन्त्यका लागि विश्वभर सञ्चालन हुँदै आएको ‘१६ दिने अभियान’ नेपालमा पनि आजदेखि औपचारिक रूपमा सुरु भएको छ। मंसिर ९ देखि २४ गतेसम्म चल्ने अभियानअन्तर्गत संघ, प्रदेश र स्थानीय सरकार, अधिकारकर्मी, शिक्षण संस्था तथा नागरिक समाजले विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गर्नेछन्।
सरकारका अनुसार यस वर्षको अभियान महिला, बालिका, तेस्रोलिङ्गी, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा परेकाहरूलाई सुरक्षित वातावरण सुनिश्चित गर्ने प्रतिवद्धतासँग जोडिएको छ। सार्वजनिक स्थल, विद्यालय, सामाजिक सञ्जाल, समुदायस्तरका संवाद, राली, अन्तरक्रिया र कानुनी सहायतासम्बन्धी कार्यक्रम सञ्चालन हुने बताइएको छ।

अभियानमार्फत लैङ्गिक आधारित हिंसा पहिचान, रोकथाम, कानुनी पहुँच, पीडितमैत्री सेवा र प्रतिवादीप्रति शून्य सहनशीलता कायम गर्न प्रभावकारी भूमिका खेलिने अपेक्षा गरिएको छ।
नेपालमा हरेक वर्ष यो अभियानले नीति निर्माता, सुरक्षाकर्मी, समुदाय र परिवारस्तरमा साझा उत्तरदायित्वको आवश्यकता स्मरण गराउँदै आएको छ।






