काठमाडौँ । बाराको सिमरामा भएको तनाव मत्थर गर्न युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सक्रियता देखाएका छन्।
मन्त्री गुप्ता बिहीबार साँझ सिमरा गएका उनको साथमा रहेका जेनजी अगुवा पुरुषोत्तम यादवले जानकारी दिए।

मन्त्री गुप्तासँग पुरुषोत्तमसहित हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र शिव यादव पनि साथमा छन्।
उनीहरूले सिमरामा प्रदर्शनरत जेनजी प्रतिनिधि र स्थानीय प्रशासनबीच वार्ता गराउने यादवले बताए।
बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सिमरामा प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूलाई वार्तामा बोलाएका छन्। जिल्ला सुरक्षा समितिको बैठक बसेर उनीहरूलाई वार्ताका लागि जिल्ला प्रशासन कार्यालय कलैयामा बोलाइएको हो।
जेनजीले भने वार्ताका लागि कलैया जान नसक्ने र जितपुर सिमरा उपमहानगरपालिकामा वार्ता हुनुपर्ने अडान लिएका छन्।
प्रमुख जिल्ला अधिकारी मिश्रले भने अहिले कमान्ड पोस्ट छोडेर आउन नमिल्ने र सदरमुकाम कलैया नै आउनुपर्ने प्रस्ताव गरेका छन्।
प्रदर्शनकारी र प्रशासन दुवैपक्षसँग जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले वार्ताका लागि सहजीकरण गरिरहेको बताएका छन्।
बुधबार नेकपा एमालेको युवा संघको राष्ट्रिय जागरण कार्यक्रमको विरोधमा जेनजीहरू बिहानैदेखि प्रदर्शनमा उत्रिएका थिए।
उक्त कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य महेश बस्नेतसहितका नेता आउने थाहा पाएपछि जेनजीहरूले सिमरा विमानस्थल अगाडि प्रदर्शन गरेका थिए। उनीहरूले सिमरा विमानस्थलको गेट समेत तोडफोड गरेका थिए। आफ्नो नेतालाई अवरोध गरेपछि एमालेका नेता कार्यकर्ताले जेनजी प्रदर्शनकारीमाथि हातपात गरेका थिए।
सोही कारण सिमरामा दुई दिनदेखि तनावग्रस्त छ। त्यहाँ कर्फ्यू आदेश जारी गरिएको छ।
जेनजी प्रदर्शनकारीमाथि हातपात गरेको आरोपमा जितपुर सिमरा उपमहानगरपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमद्विन अंसारी पक्राउ परेका छन् । उनीहरूविरुद्ध ७ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।






