एसपी यादव/सर्लाही, मंसिर ४ गते । जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी शिवहरी पोखरेलमाथि सर्वसाधारणलाई धम्क्याउने, दादागिरी गर्ने र सेवाग्राहीलाई कामको प्रक्रियामा अनावश्यक झन्झट सिर्जना गर्ने गरेको गम्भीर आरोप सार्वजनिक भएको छ । जनमत पार्टी सर्लाहीका जिल्ला इन्चार्ज श्रीचन यादवले पोखरेलको व्यवहारले कार्यालयमा सेवा लिन आउने आम नागरिक निराश र आजित बनेको बताए ।
यादवका अनुसार, पोखरेल प्रायः आफ्नै कार्यकक्षमा बस्नुको साटो प्रमुख जिल्ला अधिकारी (सीडीओ साहब) को कक्षमै बसिरहने, सेवाग्राही ओभरटेक गर्ने र अनावश्यक रूपमा काम रोकिराख्ने प्रवृत्ति देखाउँछन् । “वहाँ आफूलाई निकै मिहिनेती र सक्षम देखाउन प्रमुख जिल्ला अधिकारीको सामु झारा टार्ने शैलीमा काम गर्छन्,” यादवले आरोप लगाए ।

नागरिकता बनाउन आउने सेवाग्राहीले दिनभर लामो लाइन बस्नुपर्ने बाध्यता अझै कायमै रहेको छ । जिल्ला प्रशासनमा नागरिकता फाराममा ताेक आदेश लगाउने लगायतका काम एकजना मात्र अधिकारीको भरमा चलाउदा सेवाग्राहीले असहजता भोगिरहेको उनीहरूको गुनासो छ । सर्लाही जिल्लामा हालै नयाँ प्रमुख जिल्ला अधिकारी आएकाले धेरै कुराका जानकारी नरहेकाेले निज सहायक प्रमुख जिल्ला अधिकारीले सुचना बङ्याएर गुमराह गर्ने गरेकाे आराेप समेत उनीमाथि लागेको छ ।
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सुनैना देवी चाैधरी कल्वारले आफू बिगत एक हप्ता देखि निरन्तर अल्पसंख्यक प्रमाणित गराउन जिल्ला प्रसाशन कार्यालय मंलगवामा धाउदै आए पनि सहायक प्रमुख जिल्ला अधिकारी पाेखरेलले याे काम निर्वाचन कार्यालयकाे रहेकाे भनेर निर्वाचन कार्यालय पठाउने गरेकाे, त कहिले म गर्दिन के गर्छाै ? भनेर धम्कयाउने गरेको, तर हाल सम्म पनि साे काम नभएको उनी बताउछिन् ।

कति सेवाग्राहीले त पैसा दिए भित्रैभित्रै काम ‘छिटो- छरितो’ हुने, तर सामान्य नागरिकले लाइन लागेर पनि एक दिनमा नागरिकता नपाउने अवस्था रहेको सेवाग्राहीहरु बताउँछन् ।
एक सेवाग्राहीले भने, “हामी टाढाबाट आउँछौँ । कुनै कुरा बुझ्न सोध्न गए पनि पोखरेल सर आफ्नो कार्यकक्षमै हुँदैनन् । सीडीओ साहबको कक्षमा जाँदा झन् बाझो हाल्दै दिक्क बनाउने गर्छन् ।” उनका अनुसार, प्रश्न सोध्ने मानिसलाई “चिन्या छ” भन्दै थर्काउने, अर्को कसैलाई भेटे जस्तै व्यवहार गर्ने र दिनहुँ स्थानीय नेता, समाजसेवी तथा सर्वसाधारणलाई धम्क्याउने व्यवहार देखाइरहेको उनले बताए ।
पोखरेलबाट सेवाग्राही त्रसित, छानबिनको माग
स्थानीयहरूको भनाइअनुसार, “जिल्ला प्रशासन कार्यालय जनसेवाको केन्द्र हो, तर यहाँ सेवाग्राही नै आतंकित हुने अवस्था छ । सरकारले यस्ता व्यवहारमाथि तत्काल ध्यान दिनुपर्छ ।”
पछिल्लो समय जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीमा सेवाग्राहीलाई सहज र सम्मानजनक वातावरण दिनुपर्ने माग उठ्दै आएको छ । सेवाग्राही तथा स्थानीय राजनीतिक नेतृत्वले सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलको व्यवहारमाथि छानबिन हुनुपर्ने माग गरेका छन् ।
यस विषयमा जिल्ला प्रशासन कार्यालय सर्लाहीले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।






