काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीमा नगई प्रगतिशील अभियान नेपाल चलाइरहेका जनार्दन शर्माले दल दर्ताका लागि गृहकार्य थालेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य सन्तोष परियार, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)की उपाध्यक्ष मानुषी यमी भट्टराई र अन्य केही दलका नेतालाई साथ लिएर नयाँ दल दर्ताको प्रयास भइरहेको नेताहरूले बताएका छन्।

त्यसकै लागि परियारले आजै शुक्रबारबाट रास्वपा परित्याग गरेका छन्। उनले नयाँ राजनीतिक अभियान चलाउने भन्दै राजीनामा पत्र बुझाएका हुन्।

परियारले पार्टी परित्यागअघि जनार्दन शर्मासहितका नेतासँग छलफल गरेका थिए।

शुक्रबार कुपन्डोलस्थित शर्माको सम्पर्क कार्यालयमा भएको छलफलमा परियारसँगै नेसपा नयाँ शक्तिका डा बाबुराम भट्टराई, मानुषी यमी भट्टराई, नेपाली कम्युनिस्ट पार्टीमा नगई प्रगतिशील राष्ट्रिय अभियानका संयोजक बनेका सुदन किराँती, राम कार्कीलगायतका नेताहरू सहभागी थिए।

उनीहरूले शुक्रबार नै निर्वाचन आयोगमा नाम बुझ्नका लागि अभियानका एक केन्द्रीय सदस्यलाई खटाएका थिए।

किराँतीले आफूहरू दल दर्ताको प्रयासमा रहेको बताए। ‘हामी निरन्तर छलफलमै छौँ। साँझसम्म एउटा निचोडमा पुग्छौँ,’ उनले भने।

उनीहरू नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिस्ट पार्टी नेपालसँग पनि मिलेर जाने विषयमा निरन्तर संवादमा छन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर