जनकपुरधाम — मधेश प्रदेशसभाका बहुमत सदस्यहरूले सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। नेकपा एमालेबाट निर्वाचित मण्डलले “एमाले कार्यकर्ताको भूमिका खेलेर सभामुख पदको पदीय मर्यादा भंग गरेको” आरोप सांसदहरूले लगाएका छन्।

दर्ता गरिएको प्रस्तावमा सभामुख मण्डलले प्रदेशसभा सञ्चालनसम्बन्धी कार्यविधि, नियमावली तथा संवैधानिक मान्यता प्राप्त प्रक्रियाहरूलाई अवहेलना गरेको उल्लेख गरिएको छ। प्रस्तावमा भनिएको छ— “सभामुखले सभालाई निष्पक्ष, मर्यादित र नियमसापेक्ष ढङ्गले सञ्चालन गर्नुपर्ने पदीय जिम्मेवारीबाट विचलित भई दलगत स्वार्थमा आधारित निर्णय गर्दै आएकोले अविश्वास प्रस्ताव दर्ता गरिएको हो।”

सांसदहरूले उल्लेख गरेका अनुसार, २०८२/६/२६ गतेको बैठकबाट अघि सारिएको विभिन्न विधेयक तथा प्रस्तावसम्बन्धी प्रक्रियामा सभामुखले एकलौटी व्यवहार गरेको, संसदीय परम्परा विपरित ढङ्गले निर्णय लिएको तथा बैठक सञ्चालनमा उत्पन्न विवाद समाधान गर्न असफल भएको कारण अविश्वासको प्रस्ताव आवश्यक भएको बताइएको छ।

अविश्वास प्रस्ताव प्रदेश सभा सञ्चालन नियमावली, २०७९ को नियम १८० (१) बमोजिम दर्ता गरिएको हो, जसले प्रदेशसभामा सभामुख तथा उपसभामुखविरुद्ध बहुमत सदस्यको समर्थनमा अविश्वास प्रस्ताव दर्ता गर्न सकिने व्यवस्था गरेको छ।
प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरूमा कुमर कान्त झा,प्रमुख सचेतक, नेपाली कांग्रेस,राम असीस यादव प्रमुख सचेतक, जनता समाजवादी पार्टी नेपाल, महेश प्रसाद यादव, संसदीय दलको नेता जनमत पार्टी, भरत प्रसाद साह संसदीय दलको नेता, नेकपा माओवादी केन्द्र, जयनुल राईन, संसदीय दलको नेता लोकतान्त्रिक समाजवादी पार्टी, कनिश पटेल,प्रमुख सचेतक, नेकपा एकीकृत समाजवादी पार्टी,उर्मिला देवी सिंह दलका नेता, नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।
प्रदेशसभामा प्रस्ताव पेश भइसकेपछि अब नियमावलीअनुसार प्रक्रिया अघि बढ्ने छ। प्रदेशसभा सचिवालयले प्रस्ताव दर्ता भइसकेको पुष्टि गरेको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर