काठमाडौं — नेपाली कम्युनिष्ट पार्टी र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानबीच एकता भएको छ।

नेपालको वर्तमान राजनीतिक परिस्थितिमा एकता, स्थायित्व र जनहितका उद्देश्यसहित दुवै पक्षबीच बुधबार सहमति–पत्रमा हस्ताक्षर भएको हो। उक्त सहमति–पत्रमा मातृभूमि जागरण अभियानका अध्यक्ष भीम रावल, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेका छन्।

सहमति–पत्रमा देशमा विद्यमान अस्थिरता, सामाजिक अन्याय र आर्थिक असमानताविरुद्ध संयुक्त रूपमा आवाज उठाउने र समृद्ध नेपाल तथा सुशासनका लागि साझा कार्ययोजना अघि बढाउने प्रतिबद्धता जनाइएको छ।

दुवै पक्षले दबाबमुक्त राजनीतिक वातावरण निर्माण गरी सहकार्य र साझा अभियान सञ्चालन गर्ने सहमति जनाएका छन्। दस्तावेजमा जनताको हित, राष्ट्रिय स्वाभिमान, सामाजिक न्याय, एकता र समानताको पक्षमा निरन्तर संघर्ष गर्ने उल्लेख गरिएको छ।

सहमतिको मुख्य बुँदामा सामाजिक रूपान्तरण, आर्थिक विकास, सुशासन र राष्ट्रिय स्वाभिमानको संरक्षणलाई प्राथमिकता दिने कुरा उल्लेख छ। साथै, सहकार्यका लागि संयुक्त संयोजन समिति गठन गर्ने र आवश्यकता अनुसार थप कार्यदल बनाउने निर्णय पनि गरिएको छ।

दुवै पक्षले यस सहमति–पत्रलाई आगामी राजनीतिक स्थायित्व र राष्ट्रिय एकताको दिशामा महत्वपूर्ण कदमका रूपमा लिएका छन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर