राजविराज, १९ कात्तिक — राजविराजस्थित करदाता सेवा कार्यालय आन्तरिक राजस्व कार्यालय लहानमा गाभ्ने सरकारले गरेको निर्णयविरुद्ध सप्तरी उद्योग वाणिज्य संघ राजविराजले आन्दोलनमा जाने घोषणा गरेको छ।
संघको कार्यसमिति बैठकले बुधबार प्रधानमन्त्री, अर्थमन्त्री र आन्तरिक राजस्व विभागलाई निर्णय फिर्ता लिन आग्रह गर्ने र ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो। संघले बिहीबार जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउने, पत्रकार सम्मेलन गरी थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको अध्यक्ष लालु प्रसाद अग्रवालले बताए।

उनका अनुसार राजविराजस्थित कार्यालय हटाइँदा सेवा लिन आउने करदातालाई असुविधा हुने र स्थानीय राजस्व संकलनमा पनि असर पर्नेछ। “राजविराजमा रहेको करदाता सेवा कार्यालयलाई यथावत् राख्नुपर्छ,” अग्रवालले भने, “लहानमा गाभ्ने निर्णय अस्वीकार्य छ।”
२०७५ सालमा स्थापना भएको राजविराज करदाता सेवा कार्यालयबाट हाल करदाताको संख्या ७० हजारभन्दा बढी पुगेको छ। कार्यालयले गत आ.व. २०८१/८२ मा १ अर्ब रुपैयाँ राजस्व संकलन गरेको र चालू वर्षमा १ अर्ब ४० लाख रुपैयाँ संकलनको लक्ष्य लिएको छ।
कार्यालय प्रमुख संजीव कुमार मण्डलले कार्यालय गाभ्ने विषयमा कुनै आधिकारिक जानकारी प्राप्त नभएको बताए। “यसबारे कुनै पत्र आएको छैन, म पनि संचार माध्यमबाट मात्रै सुनेको छु,” उनले भने, “सबै सुविधा रहेको कार्यालय सार्ने कुरा यथार्थपरक छैन।”
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार देशभरका ३७ करदाता सेवा कार्यालय खारेज गरी ती स्थानबाट आन्तरिक राजस्व कार्यालयमार्फत सेवा प्रवाह गरिने व्यवस्था गरिएको छ।






