बंगालको खाडीमा विकसित मोन्था नामको चक्रवातले आज (मंगलबार) भारतमा शक्तिशाली आँधी सिर्जना गर्ने भारतीय मौसम विभागले जनाएको छ।
भारतीय मौसम विभागका अनुसार मोन्था हाल बंगालको खाडीमा सक्रिय छ। यो चक्रवात आज आन्ध्र प्रदेशको तट पार गर्ने अनुमान गरिएको छ। जसका लागि आन्ध्र प्रदेश र ओडिशाका केही भागहरूमा चक्रवातको चेतावनी जारी गरिएको छ।

भारतीय मौसम विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चक्रवात साँझ वा राति आन्ध्र प्रदेशको काकीनाडा नजिकै मछलीपट्टनम र कलिंगपट्टनमको बीचमा तट पार गर्ने सम्भावना छ।’
विज्ञप्तिअनुसार, त्यतिबेला हावाको गति ९०-१०० किलोमिटर प्रतिघण्टा पुग्न सक्छ।
यसैबीच मोन्था चक्रवातको असर नेपालमा पनि पर्ने सम्भावना रहेको यहाँका मौसमविद्ले बताएका छन्।
यस विषयमा आज बुलेटिन जारी गर्ने तयारी भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालले बताए।
‘मोन्था चक्रवातले खासगरी नेपालको पूर्वी क्षेत्रमा वर्षा र हावाहुरी हुने सम्भावना छ’, उनले संक्षिप्त कुरा गर्दै भने, ‘यस विषयमा विस्तृत जानकारी दिन हामी बुलेटिन तयार पार्दै छौँ। केही समयपछि जारी गर्दै छौँ।’
भारतीय मौसम विभागले चक्रवात ‘मोन्था’को प्रभावका कारण मंगलबार (आज) देखि बिहीबारसम्म महाराष्ट्रको विदर्भ क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।
चक्रवातलाई ध्यानमा राख्दै भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले आन्ध्र प्रदेश, ओडिसा, तमिलनाडु, पुडुचेरी र अन्डमान र निकोबार टापुका पार्टी एकाइलाई राहत र सहायताका लागि तयार रहन निर्देशन दिएका छन्।






