सर्लाही, कार्तिक ६ गते । चन्द्रनगर गाउँपालिका- १ मा वडा अध्यक्षको नेतृत्वमा जेनजेड युवामाथि बिहिवार कुटपिट भएको छ ।

वडा नं १ का वडा अध्यक्ष रामेश्वर प्रसाद महतो, उनका भतिज मुकेश महतो, अजय महतो, अनिल महतो, सहयोगी राम साह, बिजय महतो र शंकर महतोलगायतको समूहले सोही वडा निवासी किसनपुरका जेनजेड युवा विवेकानन्द गुप्तामाथि सामूहिक आक्रमण गरेको छ ।

स्थानीयका अनुसार, वडा अध्यक्ष महतो पक्षले गुप्ताको घरनै घेराउ गरी कुटपिट गरेको हो । यस घटनापछि गाउँमा तनाबपूर्ण अवस्था सिर्जना भएको उनले बताए ।

घटनाको सुरुवात वडा कार्यालयको मोटरसाइकल चोरी विवादबाट भएको बताइएको छ । कार्तिक २ गते आइतवार वडा कार्यालयका सचिव रमन लुइँटेलको मोटरसाइकल वडा अध्यक्ष महतोले लगेका थिए । तर सो विषयमा सचिवलाई जानकारी नदिई मोटरसाइकल लगिएपछि युवाहरूले सामाजिक सञ्जालमार्फत “वडा अध्यक्ष महतोले मोटरसाइकल चोरी गरेका छन्” भन्ने आरोपसहित स्टाटस् पोस्ट गरेका थिए ।

सोही आरोपसहितको स्टाटस् सामाजिक सञ्जालमा फैलिएको विषयलाई लिएर वडा अध्यक्ष महतो पक्षले जेनजेड युवा गुप्तामाथि कुटपिट तथा गालीगलौज गरेको जेनजेड युवा दिपेश कुमार महतोले जानकारी गराएका छन् ।

वडा कार्यालयका सहयोगी पशुपति महतोले, आइतवार राति करिब १० बजे वडा नं. १ को कार्यालय खोल्दा वडा अध्यक्षले वडा सचिवको मोटरसाइकल त्यहाँ राखेका थिए । र त्यसपछि वडा अध्यक्ष महतोले आफ्नो निजि मोटरसाइकल फिर्ता लगेको बताए ।

यस विषयमा वडा सचिव रमन लुइँटेलले पनि पुष्टि गर्दै भने, “वडा अध्यक्षले मेरो मोटरसाइकल लग्नु नै चोरी हो, मैले अनुमति दिएको थिइनँ ।”

घटनापछि जेनजेड आन्दोलनका घाइते नेता उदय प्रकाश साहको नेतृत्वमा युवाहरूले वडा अध्यक्ष रामेश्वर प्रसाद महतोमाथि कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेका छन् । उनीहरूले वडा अध्यक्ष महतोलाई तत्काल पक्राउ पर्नुपर्ने मागसहित नारा बाजी गरेका थिए ।

पिडित युवा विवेकानन्द गुप्ताका अनुसार, आफुले वडा अध्यक्षलाई पटकपटक गलत कामको खवरदारी गरेकै कारण आफुमाथी कुटपिट भएको उनले जनाए ।

जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता सरोज राइले घटनाको अनुसन्धान सुरु भइसकेको बताएका छन् । अहिले अवस्था समान्य रहेको र दुबै पक्षलाई छलफलका लागि बोलाइएको उनले जानकारी गराए ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर