एसिया–प्रशान्त क्षेत्रीय छनोट प्रतियोगिता सकिएसँगै आगामी आईसीसी टी–२० विश्वकपमा सहभागिता जनाउने २० वटै टोलीको टुंगो लागेको छ । एसिया–प्रशान्त क्षेत्रको छनोटबाट नेपालसँगै आयोजक ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) विश्वकपमा पुग्न सफल भए ।
छनोट प्रतियोगिताको ‘सुपर–६’ चरणको अंक तालिकामा नेपाल पहिलो, ओमान दोस्रो र यूएई तेस्रो हुँदै विश्वकपमा प्रवेश गरेका हुन् । नेपाली टोली आफूले खेलेको ६ वटै खेलमा विजयी हुँदै विश्वकपमा स्थान पक्का गर्न सफल भयो ।

टी–२० विश्वकपको १०औं संस्करण सन् २०२६ को फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । प्रतियोगितामा २० राष्ट्रको सहभागिता रहने छ ।
भारत र श्रीलंकाले आयोजकका रूपमा आगामी विश्वकप खेल्नेछन् । अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज भने अघिल्लो विश्वकप (नवौं संस्करण) को वरीयताका आधारमा आगामी विश्वकपमा छनोट भएका हुन् ।
यसैगरी, आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तानले आईसीसी टी–२० वरीयताका आधारमा आगामी विश्वकपमा स्थान पक्का गरेका हुन् । क्यानडा अमेरिकी क्षेत्रीबाट छनोट चरण पार गर्दै आगामी विश्वकपमा उपस्थित भएको हो ।
प्रतियोगिताको नौवटा संस्करण सकिँदासम्म ६ वटा टोलीले मात्र टी–२० विश्वकपको उपाधि जित्न सकेका छन् । वेस्ट इन्डिज, भारत र इङ्ल्यान्डले दुई/दुई पटक विश्वकप जितेका छन् । अस्ट्रेलिया, पाकिस्तान र श्रीलंकाले पनि एक/एक पटक टी–२० विश्वकपको उपाधि हात पारेका छन् ।
सन् २०२६ मा एउटा टोलीले पहिलो पटक टी–२० विश्वकप खेल्नेछ । इटाली पहिलो पटक विश्वकपमा पुगेको हो । अन्य १९ टोलीले भने यसअघि नै विश्वकपको अनुभव सँगालिसकेका छन् । आगामी विश्वकपमा स्थान बनाउने टोली र उनीहरूको यसअघिको प्रदर्शनको बारेमा यहाँ चर्चा गरिएको छ ।

वेस्ट इन्डिज
क्यारेबियन टोलीले पहिलो संस्करणदेखि नै नियमित रूपमा आईसीसी टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ । वेस्ट इन्डिजको टोलीले हालसम्म दुईपटक टी–२० विश्वकपको उपाधि पनि चुमिसकेको छ ।
पहिलो संस्करणमा पहिलो चरणबाटै बाहिरिएको वेस्ट इन्डिज दोस्रो संस्करणमा सेमिफाइनलसम्म पुगेको थियो । तेस्रो संस्करणमा दोस्रो चरणबाट बाहिरिएको क्यारेबियन टोलीले चौथो संस्करणको उपाधि चुमेको थियो ।
सन् २०१२ मा सम्पन्न चौथो संस्करणको फाइनलमा वेस्ट इन्डिजले श्रीलंकालाई ३६ रनले हराएको थियो । वेस्ट इन्डिजको टोली पाँचौं संस्करणमा भने सेमिफाइनलमा पराजित भएको थियो । लगत्तै छैटौं संस्करणको उपाधि वेस्ट इन्डिजले नै जितेको थियो ।
सन् २०१६ मा सम्पन्न छैटौं संस्करणको फाइनलमा वेस्ट इन्डिजले इङ्ल्यान्डलाई चार विकेटले पराजित गरेको थियो । वेस्ट इन्डिजको टोली सातौं संस्करणमा दोस्रो चरण, आठौं संस्करणमा पहिलो चरण र नवौं संस्करणमा दोस्रो चरणबाट बाहिरिएको थियो ।

अस्ट्रेलिया
अस्ट्रेलियाले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै टी–२० विश्वकपमा सहभागिता जनाउन थालेको हो । त्यसले सन् २०२६ मा अस्ट्रेलियाले १०औं पटक विश्वकप खेल्नेछ ।
अस्ट्रेलियाले हालसम्म एकपटक मात्र विश्वकप जित्न सकेको छ । अस्ट्रेलियाले सन् २०२१ मा विश्वकप जितेको थियो । अस्ट्रेलियाले फाइनलमा न्युजिल्यान्डलाई आठ विकेटले हराएको थियो ।
यसका अतिरिक्त, अस्ट्रेलियन टोली पहिलो संस्करणमा सेमिफाइनलसम्म पुगेको थियो । सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई १५ रनले हराएको थियो ।
दोस्रो संस्करणमा पहिलो चरणबाटै बाहिरिएको अस्ट्रेलिया तेस्रो संस्करणमा उपविजेता बनेको थियो । तेस्रो संस्करणको फाइनलमा इङ्ल्यान्डले अस्ट्रेलियालाई सात विकेटले हराएको थियो ।
यसैगरी, चौथो संस्करणमा अस्ट्रेलियन टोली सेमिफाइनलमा वेस्ट इन्डिजसँग ७४ रनले हारेको थियो । पाँचौं र छैटौं संस्करणमा अस्ट्रेलियन टोली दोस्रो चरणबाट बाहिरिएको थियो ।
सातौं संस्करणमा भने अस्ट्रेलियन टोलीले उपाधि नै चुमेको थियो । आठौं र नवौं संस्करणमा भने अस्ट्रेलियन टोली दोस्रो चरणबाटै बाहिरिएको थियो ।

भारत
भारतले पहिलो संस्करणदेखि नै आईसीसी टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ । त्यसैले भारतले आगामी संस्करणमा १०औं पटक विश्वकप खेल्नेछ । भारतले हालसम्म दुईपटक टी–२० विश्वकपको उपाधि जितेको छ ।
सन् २००७ मा पहिलो संस्करणको उपाधि नै भारतले जितेको थियो । त्यतिबेला भारतले फाइनलमा चिरप्रतिद्वन्द्वी पाकिस्तानमाथि पाँच रनको रोमाञ्चक जित हासिल गरेको थियो । त्यतिबेला भारतीय टोलीका कप्तान महेन्द्रसिंह धोनी र पाकिस्तानी टोलीका कप्तान सोएब मलिक थिए ।
दोस्रो, तेस्रो र चौथो संस्करणमा भारतीय टोली दोस्रो चरणमै पराजित भएको थियो । पाँचौं संस्करणमा भारत उपविजेता बनेको थियो । त्यतिबेला भारतीय टोली फाइनलमा श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो ।
छैटौं संस्करणमा सेमिफाइनलसम्म पुगेको भारतीय टोली सातौं संस्करणमा दोस्रो चरणमै पराजित भएको थियो । आठौं संस्करणमा भारत सेमिफाइनलमा पराजित भएको थियो । आठौं संस्करणमा भारत च्याम्पियन बनेको थियो । त्यतिबेला फाइनलमा भारतले दक्षिण अफ्रिकालाई सात रनले हराएको थियो ।
इङ्ल्यान्ड
इङ्ल्यान्डको टोलीले पहिलो संस्करणदेखि नै नियमित रूपमा टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ । इङ्ल्यान्डले हालसम्म दुईपटक उपाधि पनि जितेको छ । सन् २०२६ मा इङ्ल्यान्डले १०औं पटक विश्वकप खेल्नेछ ।
पहिलो र दोस्रो संस्करणमा इङ्ल्यान्ड दोस्रो चरणमा पराजित भएको थियो । इङ्ल्यान्डले सन् २०१० मा पहिलो पटक उपाधि जितेको थियो । त्यतिबेला इङ्ल्यान्डले फाइनलमा अस्ट्रेलियालाई सात विकेटले पराजित गरेको थियो ।
चौथो र पाँचौं संस्करणमा इङ्ल्यान्ड दोस्रो चरणसम्म पुगेको थियो । सन् २०१६ मा सम्पन्न छैटौं संस्करणमा इङ्ल्यान्डको टोली उपविजेता बनेको थियो । त्यतिबेला इङ्ल्यान्ड फाइनलमा वेस्ट इन्डिजसँग चार विकेटले हारेको थियो ।
सातौं संस्करणमा सेमिफाइनलमा पराजित भएको इङ्ल्यान्डले सन् २०२२ मा सम्पन्न आठौं संस्करणको उपाधि जितेको थियो । त्यतिबेला फाइनलमा इङ्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराएको थियो । नवौं संस्करणमा भने इङ्ल्यान्डको टोली सेमिफाइनलमा पराजित भएको थियो ।
अफगानिस्तान
अफगानिस्तानले सन् २०१० मा सम्पन्न तेस्रो संस्करणदेखि टी–२० विश्वकपमा भाग लिएको हो । त्यसैले अफगानिस्तानले हालसम्म सातवटा विश्वकप खेलिसकेको छ भने आगामी संस्करण अफगानिस्तानका लागि आठौं सहभागिता हुनेछ ।
पहिलोदेखि तेस्रो सहभागितासम्म अफगानिस्तानको टोली प्रारम्भिक चरणबाटै बाहिरिएको थियो । चौथोदेखि छैटौं सहभागितामा भने अफगानिस्तानको टोली दोस्रो चरणसम्म पुग्न सफल भएको थियो ।
सातौं सहभागिता भने अफगानिस्तानका लागि विशेष थियो । सन् २०२४ मा सम्पन्न नवौं संस्करणमा अफगानिस्तान विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो । उक्त संस्करणको सेमिफाइनलमा अफगानिस्तानलाई दक्षिण अफ्रिकाले नौ विकेटले हराएको थियो ।
बंगलादेश
बंगलादेशले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ । त्यसैले सन् २०२६ मा बंगलादेशले १०औं पटक विश्वकप खेल्नेछ । तर, बंगलादेशले हालसम्म विश्वकपको उपाधि भने जित्न सकेको छैन ।
टी–२० विश्वकपमा बंगलादेश दोस्रो चरणभन्दा अगाडि बढ्न सकेको छैन । पहिलो संस्करणमै दोस्रो चरणसम्म पुगेको बंगलादेश दोस्रो, तेस्रो र चौथो संस्करणमा भने पहिलो चरणबाटै बाहिरिन पुगेको थियो ।
यसैगरी, बंगलादेशी टोली चौथोदेखि नवौं संस्करणसम्म दोस्रो चरणमा पुगेर पराजित भएको छ । सन् २०२४ मा सम्पन्न नवौं संस्करणमा बंगलादेशी टोली ‘सुपर–८’ चरणमा तीनवटै खेल हार्दै उपाधि होडबाट बाहिरिएको थियो ।
क्यानडा
टी–२० विश्वकपमा क्यानडा खासै अनुभवी टोली होइन । क्यानडाले हालसम्म एकपटक मात्र टी–२० विश्वकप खेलेको छ । क्यानडाले सन् २०२४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो ।
त्यतिबेला क्यानेडियन टोली पहिलो चरणबाटै बाहिरिएको थियो । आफूले खेलको चारमध्ये क्यानडाको टोली एक खेलमा विजयी भएको थियो । क्यानडाले आयरल्यान्डलाई १२ रनले हराएको थियो ।
दुई खेलमा भने क्यानडाको टोली पराजित भएको थियो । क्यानडाको टोली अमेरिकासँग सात विकेट र पाकिस्तानसँग सात विकेटले हारेको थियो । क्यानडा र भारतबीचको खेल भने वर्षाका कारण शुरू नै हुन सकेको थिएन ।
आयरल्यान्ड
आयरल्यान्ड आईसीसी टी–२० विश्वकपमा निकै लामो इतिहास बोकेको टोली हो । आयरल्यान्डले सन् २००९ मा सम्पन्न दोस्रो संस्करणदेखि नै निरन्तर रूपमा सहभागिता जनाउँदै आएको छ । तर, आयरल्यान्डले हालसम्म टी–२० विश्वकपको उपाधि जित्न सकेको छैन ।
पहिलो सहभागितामा आयरल्यान्ड दोस्रो चरणसम्म पुगेको थियो । त्यसपछि त्यसपछि तेस्रोदेखि सातौं संस्करणसम्म आयरल्यान्ड पहिलो चरणबाटै घर फर्किएको थियो । आठौं संस्करणमा भने आयरल्यान्ड दोस्रो चरणमा पुगेको थियो । नवौं संस्करणमा आयरल्यान्ड पहिलो चरणबाटै बाहिरिएको थियो ।
इटाली
इटाली पहिलो पटक आईसीसी टी–२० विश्वकपमा छनोट भएको हो । इटालीले युरोपेली क्षेत्रबाट छनोट चरण पार गर्दै विश्वकपमा पुगेको हो । युरोपेली क्षेत्रका अन्तिम चरणको छनोट प्रतियोगितामा पाँच टोली सहभागी थिए ।
त्यसमध्ये इटाली अंक तालिकामा दोस्रो भएको थियो । इटालीले चारमध्ये दुई खेलमा जित हात पारेको थियो । एक खेलमा पराजित भएको इटालीको एउटा खेल भने अनिर्णित रूपमा सकिएको थियो ।
नामिबिया
नामिबिया चौथो पटक टी–२० विश्वकपमा छनोट भएको हो । नामिबियाले यसअघि लगातार तीनपटक विश्वकप खेलिसकेको छ । यसपटक पनि नामिबिया अफ्रिकी क्षेत्रबाट छनोट चरण पार गर्दै विश्वकपमा स्थान बनाउन सफल भएको हो ।
नामिबियाले सन् २०२१ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । टी–२० विश्वकपको त्यो सातौं संस्करण थियो । त्यतिबेला नामिबिया प्रतियोगिताको दोस्रो चरणसम्म पुगेको थियो ।
त्यसपछि नामिबियाले सन् २०२२ मा दोस्रो पटक विश्वकप खेल्यो । तर, आफ्नो दोस्रो सहभागितामा नामिबिया पहिलो चरणबाटै घर फर्कियो । नामिबियाले सन् २०२४ मा पनि विश्वकप खेलेको थियो । आफ्नो तेस्रो सहभागितामा पनि नामिबिया पहिलो चरणबाटै घर फर्किएको थियो ।
नेदरल्यान्ड्स
टी–२० पुरुष विश्वकपमा नेदरल्यान्ड्स अनुभवी टोली हो । सन् २०२६ मा नेदरल्यान्ड्सले सातौं पटक विश्वकप खेल्नेछ । तर, नेदरल्यान्ड्सको टोलीले टी–२० विश्वकपमा हालसम्म दोस्रो चरण पनि पार गर्न सकेको छैन ।
नेदरल्यान्ड्सले सन् २००९ मा सम्पन्न दोस्रो संस्करणदेखि टी–२० विश्वकपमा सहभागिता जनाउन थालेको हो । त्यतिबेला नेदरल्यान्ड्स पहिलो चरणबाटै बाहिरिएको थियो । त्यसपछि तेस्रो र चौथो संस्करणमा नेदरल्यान्ड्स विश्वकपमा छनोट हुन सकेन ।
पाँचौं संस्करणमा दोस्रो चरणसम्म पुगेको नेदरल्यान्ड्स छैटौं संस्करणमा पहिलो चरणबाटै बाहिरिएको थियो । सातौं स्करणमा पहिलो चरणबाटै बाहिरिएको नेदरल्यान्ड्स आठौं संस्करणमा भने दोस्रो चरणमा पुगेको थियो । नवौं संस्करणमा फेरि नेदरल्यान्ड्सको टोली पहिलो चरणबाटै घर फर्किएको थियो ।
न्युजिल्यान्ड
बलियो टेस्ट राष्ट्र न्युजिल्यान्डले पहिलो संस्करणदेखि नै टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ । तर, अन्तर्राष्ट्रिय क्रिकेटमा अभागी टोलीको संज्ञा पाएको न्युजिल्यान्डले हालसम्म टी–२० विश्वकपको उपाधि भने जित्न सकेको छैन ।
सन् २०२६ मा न्युजिल्यान्डले १०औं पटक टी–२० विश्वकप खेल्नेछ । न्युजिल्यान्डको टोली पहिलो सहभागितामै सेमिफाइनलसम्म पुगेको थियो । दोस्रोदेखि पाँचौं संस्करणसम्म न्युजिल्यान्ड दोस्रो चरणबाटै बाहिरिएको थियो ।
यसैगरी, छैटौं संस्करणमा न्युजिल्यान्ड सेमिफाइनलमा पराजित भएको थियो । सन् २०२१ मा सम्पन्न सातौं संस्करणमा भने न्युजिल्यान्ड उपविजेता बनेको थियो । त्यतिबेला फाइनलमा न्युजिल्यान्डको टोली छिमेकी प्रतिद्वन्द्वी अस्ट्रेलियासँग आठ विकेटले पराजित भएको थियो ।
यसैगरी, सन् २०२२ मा सम्पन्न आठौं संस्करणमा सेमिफाइनलसम्म पुगेको न्युजिल्यान्डको टोली नवौं संस्करणमा भने पहिलो चरणबाटै घर फर्किएको थियो ।
ओमान
ओमानको टोली चौथो पटक टी–२० विश्वकपमा छनोट भएको हो । तर, ओमानले हालसम्म टी–२० विश्वकपमा पहिलो चरण नै पार गर्न सकेको छैन । सन् २०१६ मा सम्पन्न छैटौं संस्करणमा ओमानले पहिलो पटक सहभागिता जनाएको थियो ।
आफ्नो पहिलो सहभागितामा ओमान पहिलो चरणबाटै घर फर्किएको थियो । त्यसलगत्तै ओमानले विश्वकपको सातौं संस्करण पनि खेल्यो । सातौं संस्करणमा पनि ओमानको टोली समूहगत चरणबाटै बाहिरिएको थियो ।
यसैगरी, ओमानले विश्वकपको नवौं संस्करणमा पनि सहभागिता जनायो । यसपटक ओमानको टोली एसिया–प्रशान्त क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा दोस्रो हुँदै विश्वकपमा पुगेको हो ।
पाकिस्तान
पाकिस्तानले पहिलो संस्करणदेखि नै आईसीसी टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ । दक्षिण एसियाको प्रभावशाली टेस्ट राष्ट्र पाकिस्तानले हालसम्म एक पटक टी–२० विश्वकपको उपाधि पनि चुमिसकेको छ ।
पहिलो संस्करणमा उपविजेता बनेको पाकिस्तानले दोस्रो संस्करणको उपाधि जितेको थियो । पहिलो संस्करणको फाइनलमा पाकिस्तानी टोली चिरप्रतिद्वन्द्वी भारतसँग पाँच रनले पराजित भएको थियो ।
दोस्रो संस्करणको फाइनलमा भने पाकिस्तानले श्रीलंकालाई आठ विकेटले हराउँदै उपाधि चुमेको थियो । त्यतिबेला पाकिस्तानी टोलीका कप्तान युनिस खान थिए । श्रीलंकाली टोलीका कप्तान भने कुमार सांगाकारा थिए ।
यसैगरी, पाकिस्तानी टोली तेस्रो र चौथो संस्करणमा सेमिफाइनलमा पराजित भएको थियो । पाँचौं र छैटौं संस्करणमा पाकिस्तान दोस्रो चरणमा पराजित भएको थियो । सातौं संस्करणमा भने पाकिस्तान सेमिफाइनलसम्म पुगेको थियो ।
यसैगरी, आठौं संस्करणमा पाकिस्तानी टोली उपविजेता बनेको थियो । सन् २०२२ मा सम्पन्न आठौं संस्करणको फाइनलमा पाकिस्तानी टोली इङ्ल्यान्डसँग पाँच विकेटले पराजित भएको थियो । नवौं संस्करणमा निराशाजनक प्रदर्शन गरेको पाकिस्तान पहिलो चरणबाटै बाहिरिएको थियो ।
दक्षिण अफ्रिका
दक्षिण अफ्रिकाले आईसीसी टी–२० विश्वकपको पहिलो संस्करणदेखि नै नियमित रूपमा सहभागिता जनाउँदै आएको छ । तर, अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिका पनि सधैं अभागी टोलीका रूपमा दरिँदै आएको छ ।
सन् २०२६ मा लगातार १०औं विश्वकप खेल्ने तयारीमा रहे पनि दक्षिण अफ्रिकाले हालसम्म विश्वकप भने जित्न सकेको छैन । पहिलो संस्करणमा दक्षिण अफ्रिका दोस्रो चरणबाटै बाहिरिएको थियो । दोस्रो संस्करणमा सेमिफाइनलसम्म पुगेको दक्षिण अफ्रिका तेस्रो र चौथो संस्करणमा भने दोस्रो चरणबाट घर फर्किएको थियो ।
यसैगरी, दक्षिण अफ्रिकी टोली पाँचौं संस्करणमा सेमिफाइनलसम्म पुगेको थियो । छैटौं, सातौं र आठौं संस्करणमा भने दक्षिण अफ्रिका दोस्रो चरणबाटै बाहिरिएको थियो । नवौं संस्करणमा भने दक्षिण अफ्रिका उपविजेता बनेको थियो । त्यतिबेला दक्षिण अफ्रिकी टोली फाइनलमा भारतसँग सात रनले पराजित भएको थियो ।
श्रीलंका
श्रीलंकाली टोलीले पनि पहिलो संस्करणदेखि नै निरन्तर रूपमा आईसीसी टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ । तर, दक्षिण एसियाली टेस्ट राष्ट्र श्रीलंकाले एकपटक विश्वकपको उपाधि पनि जितिसकेको छ ।
आफ्नो पहिलो सहभागितामा दोस्रो चरणबाट बाहिरिएको श्रीलंका दोस्रो संस्करणमा भने उपविजेता बनेको थियो । त्यतिबेला श्रीलंकाली टोली फाइनलमा पाकिस्तानसँग आठ विकेटले पराजित भएको थियो ।
तेस्रो संस्करणमा सेमिफाइनलमा पराजित भएको श्रीलंका चौथो संस्करणमा पनि उपविजेता बनेको थियो । सन् २०१२ मा सम्पन्न चौथो संस्करणमा श्रीलंकाली टोली फाइनलमा वेस्ट इन्डिजसँग ३६ रनले पराजित भएको थियो ।
यसैगरी, पाँचौं संस्करणमा श्रीलंकाली टोली च्याम्पियन बनेको थियो । सन् २०१४ मा सम्पन्न पाँचौं संस्करणको फाइनलमा श्रीलंकाले भारतलाई ६ विकेटले हराएको थियो । त्यतिबेला श्रीलंकाका कप्तान लासिथ मालिंगा र भारतका कप्तान महेन्द्रसिंह धोनी थिए ।
यसैगरी, छैटौंदेखि आठौं संस्करणसम्म भने श्रीलंकाली टोली दोस्रो चरणभन्दा अगाडि बढ्न सकेको थिएन । नवौं संस्करणमा त झनै निराशाजनक प्रदर्शन गरेको श्रीलंका पहिलो चरणबाट घर फर्किएको थियो ।
यूएई
संयुक्त अरब इमिरेट्स (यूएई) ले सन् २०२६ मा तेस्रो पटक आईसीसी टी–२० विश्वकप खेल्नेछ । यूएईले यसअघि दुईपटक विश्वकप खेलिसकेको छ । तर, हालसम्म यूएईको टोली विश्वकपको पहिलो चरणभन्दा अगाडि बढ्न सकेको छैन ।
यसपटक यूएई एसिया–प्रशान्त क्षेत्रको छनोट प्रतियोगितामा तेस्रो हुँदै विश्वकपमा स्थान पक्का गर्न सफल भएको हो । यूएईले सन् २०१४ मा पहिलो पटक विश्वकप खेलेको थियो । त्यसपछि यूएईले सन् २०२२ मा दोस्रो पटक विश्वकप खेल्ने अवसर पाएको थियो ।
अमेरिका
विश्व क्रिकेटको उदीयमान राष्ट्र अमेरिकाले सन् २०२६ मा दोस्रो पटक आईसीसी टी–२० विश्वकप खेल्नेछ । यसअघि अमेरिकाले एकपटक मात्र विश्वकप खेल्ने अवसर पाएको छ । यसपटक अमेरिका अघिल्लो संस्करणमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा विश्वकपमा छनोट भएको हो ।
अमेरिकाले सन् २०२४ मा सम्पन्न नवौं संस्करणमा पहिलो पटक विश्वकपमा सहभागिता जनाएको थियो । त्यतिबेला अमेरिका समूह ‘ए’ बाट दोस्रो हुँदै ‘सुपर–८’ चरणमा पुगेको थियो । आयोजक राष्ट्र अमेरिका ‘सुपर–८’ चरणभन्दा अगाडि भने बढ्न सकेन ।
जिम्बाब्बे
कुनै समय विश्व क्रिकेटमा चर्चाको शिखरमा रहने जिम्बाब्बेको टोलीले सन् २०२६ मा सातौं पटक आईसीसी टी–२० विश्वकप खेल्नेछ । तर, जिम्बाब्बेले हालसम्म टी–२० विश्वकपको उपाधि भने जित्न सकेको छैन ।
पहिलो संस्करणमा जिम्बाब्बेको टोली पहिलो चरणबाटै बाहिरिएको थियो । सन् २०१० मा सम्पन्न तेस्रो संस्करणमा जिम्बाब्बे फेरि विश्वकपमा सहभागी भएको थियो । त्यसबेला पनि जिम्बाब्बे पहिलो चरणबाटै बाहिरियो ।
यसैगरी, चौथोदेखि छैटौं संस्करणसम्म जिम्बाब्बेको टोली लगातार पहिलो चरणबाटै घर फर्किन बाध्य भएको थियो । सातौं संस्करणमा जिम्बाब्बे विश्वकपमा छनोट हुन सकेन । आठौँ संस्करणमा जिम्बाब्बे दोस्रो चरणसम्म पुगेको थियो । नवौं संस्करणमा भने जिम्बाब्बे विश्वकपमा छनोट नै हुन सकेन ।

नेपाल
नेपाली टोलीले पनि सन् २०२६ मा तेस्रो पटक टी–२० विश्वकप खेल्नेछ । नेपालले यसअघि दुईपटक विश्वकपको अनुभव बटुलिसकेको छ । नेपाली टोलीले लगातार दोस्रो पटक टी–२० विश्वकपमा स्थान बनाउन सफल भएको हो ।
नेपाल एसिया–प्रशान्त क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा च्याम्पियन बन्दै विश्वकपमा पुगेको हो । यसअघि, नेपाली टोली छनोट प्रतियोगितामा च्याम्पियन बन्न सकेको थिएन । त्यसैले नेपाली टोलीका लागि यो ऐतिहासिक सफलता पनि हो ।
नेपाली टोलीले सन् २०१४ मा पहिलो पटक विश्वकप खेलेको थियो । उक्त विश्वकप बंगलादेशमा आयोजना भएको थियो । आफ्नो पहिलो सहभागितामै नेपाली टोलीले विश्वकपमा अब्बल प्रदर्शन गरेको थियो ।
त्यतिबेला प्रारम्भिक चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोली बंगलादेशसँग नेट रन रेटमा थोरै अन्तरले पछि पर्दै अघिल्लो चरणमा पुग्नबाट बञ्चित भएको थियो । समूह ‘ए’ मा रहेको नेपालले हङकङलाई ८० रन र अफगानिस्तानलाई नौ रनले हराएको थियो ।
नेपाली टोली आयोजक बंगलादेशसँग भने आठ विकेटले पराजित भएको थियो । बंगलादेशको नेट रन रेट १.४६६ र नेपालको नेट रन रेट ०.९३३ रहेको थियो । नेट रन रेटमै पछि परेका कारण नेपाली टोली अघिल्लो चरणमा पुग्नबाट बञ्चित भएको थियो ।
यसैगरी, नेपाली टोलीले सन् २०२४ मा दोस्रो पटक टी–२० विश्वकप खेलेको थियो । त्यतिबेला नेपाली टोली तीन खेलमा पराजित भएको थियो भने एक खेल अनिर्णित रूपमा सकिएको थियो । विश्वकपको यो संस्करण अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना भएको थियो ।
उक्त विश्वकपको समूह ‘डी’ मा परेको नेपाली टोली नेदरल्यान्ड्ससँग ६ विकेट, दक्षिण अफ्रिकासँग एक रन र बंगलादेशसँग २१ रनले पराजित भएको थियो । नेपाल र श्रीलंकाबीचको खेल भने वर्षाका कारण रद्द भएको थियो ।
त्यसैले सन् २०२६ को विश्वकपमा नेपाली टोलीसँग इतिहास रच्ने अवसर छ । पछिल्लो समय एकपछि अर्को अब्बल प्रदर्शन गर्दै आएको नेपाली टोली दोस्रो चरणमा पुगेसँगै विश्वकपमा नयाँ इतिहास रच्ने अवसर पाएको हो ।






