काठमाडौं — कम्युनिस्ट घटकबीच निरन्तर चल्ने वाम एकताको विषय जेनजी आन्दोलनपछि फेरि तातिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी) र नेत्र विक्रम चन्द नेतृत्वको नेकपासँग एकता गर्ने संकेत दिएका छन् ।

जेनजी आन्दोलनपछि माओवादी केन्द्र र समाजवादी दुबै दलले आन्तरिक गृहकार्य थालेका छन् । तर, जिम्मेवारी बाँडफाँट, संगठन संरचना र सिद्धान्तबारे ठोस सहमति भने भएको छैन । स्रोतका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमपछि वाम घटकबीच ‘एकताको आवश्यकता’ तीव्र रूपमा महसुस हुन थालेको छ ।

विप्लवको सन्देश : ‘पुराना नेताले अब कम्युनिस्ट पार्टी चलाउन सक्दैनन्’

नेकपा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले माओवादी र समाजवादीसँग एकताको आवश्यकता बढेको बताउँदै नयाँ पुस्ताको नेतृत्वमा नयाँ कम्युनिस्ट केन्द्र निर्माण गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले भने, “नेपालमा कम्युनिस्ट र माओवादी घटकबीच एकताको आवश्यकता झन् बढेको छ । तर, पुराना नेताले मार्क्सवाद, लेनिनवाद र माओवादका आधारमा नयाँ कम्युनिस्ट पार्टी निर्माण गर्न सक्दैनन् ।”

उनले पुराना नेतालाई संरक्षक बनाएर नयाँ पुस्ताको नेतृत्वमा एकता गर्नुपर्ने बताए । “श्रम गर्न नसक्ने, अध्ययन नगर्ने, सिर्जनशील बन्न नसक्ने नेताले अब कम्युनिस्ट पार्टी चलाउन सक्दैनन्,” उनले भने, “अब नयाँ पुस्ताले जनताको काममा लाग्ने समय आएको छ ।”

समाजवादीभित्र असहमति

माओवादीसँग एकताको विषय उठेपछि समाजवादीभित्र मतभेद सतहमा आएको छ । असोज २४ देखि २६ गतेसम्म बसेको सचिवालय बैठकले एकता तयारीका लागि बेदुराम भुसालको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । तर, पार्टीका २५ मध्ये ९ बढी पदाधिकारीले एकता प्रक्रियाको विरोध गरेका छन् ।

झलनाथ खनाल, घनश्याम भुसाल, घनेन्द्र बस्नेत, भानुभक्त जोशी र जयन्ती राईलगायत नेताले एकता विरोधी धारणा राखेका छन् । भारतमा उपचाररत नेता खनालले विदेशमै रहेर ‘एकताको कुरा पार्टीलाई भड्खालोमा पुर्‍याउने’ भन्दै आपत्ति जनाएका छन् ।

‘विचार मिल्नेसँग एकता बाह्रैमासको विषय’

नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले वाम एकतालाई निरन्तर चल्ने प्रक्रिया भनेका छन् । “कम्युनिस्टबीच विचार मिल्नेसँग एकताको कुरा बाह्रैमास चलिरहन्छ,” उनले भने, “जेनजी आन्दोलनपछि मात्रै होइन, पहिले पनि यो आवश्यकता थियो ।”

उनका अनुसार अहिले माओवादी र समाजवादीबीच सैद्धान्तिक सहमति मात्र बनेको छ, नेतृत्व र संगठन संरचना भने अझै टुंगिएको छैन । “समाजवादी मोर्चामा आबद्ध दलसँग एकताको विषय छलफलमै छ,” गुरुङले भने, “अन्तिम टुंगो लागिसकेको छैन, तर छलफल अगाडि बढ्दै छ ।”

दलहरूले मार्गदर्शक सिद्धान्तका रूपमा मार्क्सवाद–लेनिनवादलाई मान्दै समाजवादी कार्यक्रम र कार्यदिशामा अघि बढ्ने धारणा लिएका छन् । केही नेताले एकता भएपछि ‘माओवादी’ नामको सट्टा समाजवादी अर्थ झल्किने नाम लिनुपर्ने सुझाव दिएका छन् भने अरूले विद्यमान नाम नछाड्ने अडान राखेका छन् ।

प्रचण्डको ‘रणनीतिक कार्ड’

विश्लेषकहरूका अनुसार अध्यक्ष प्रचण्डले वाम एकताको कार्ड रणनीतिक रूपमा प्रयोग गर्दै आएका छन् । पार्टीमा आन्तरिक दबाब बढ्दा वा नेतृत्व प्रश्नमा आउँदा उनले हरेकपटक वाम एकताको प्रस्ताव अघि सारेका छन् ।

जेनजी आन्दोलनपछि नेतृत्व छाड्ने दबाबमा रहेका बेला पनि प्रचण्डले माओवादी, समाजवादी र विप्लव समूहसँग एकताको कुरा पुनः उठाएका छन् । केही दिनअघि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले पद छाडे एमालेसँग पनि एकता गर्न सकिने बताएका थिए ।

यता, माओवादी–समाजवादीबीचको नजिकिँदो सम्बन्ध देखेपछि एमाले अध्यक्ष ओली पनि सक्रिय बनेका छन् । एमाले फुटाएर नयाँ पार्टी बनाएका माधव नेपाललाई ओलीले फेरि एमालेमै फर्किन आग्रह गरेका छन् ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर