काठमाडौँ – भाइटीकाको अवसर पारेर रिलिज हुन लागेको फिल्म **‘सोल्टिनी’**को प्रचार–प्रसारका लागि टिम देशभरका विभिन्न सहरहरूमा देउसी भैलो कार्यक्रममार्फत दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै सक्रिय छ।

फिल्मका मुख्य कलाकार प्रकाश सपूत, परीक्षा लिम्बु, सुन्दर धिताल, सबु गुरुङ, सुजन खतिवडा लगायतको टोलीले आइतबार झापाको दमकमा याक्थुङ फिल्म मेकर्स एसोसिएसन कोसी प्रदेश कार्यसमितिसँग मिलेर आयोजित देउसी भैलो कार्यक्रममा सहभागिता जनाएका थिए। कलाकार र स्थानीयवासीले देउसी खेल्दै कार्यक्रमलाई उल्लासमय बनाएका थिए। सो अवसरमा लिम्बू चलचित्रकर्मीहरूको अक्षयकोष निर्माण सहयोगार्थ सङ्कलित रकम पनि हस्तान्तरण गरिएको थियो।

टिमले मोरङको मिक्लाजुङमा जारी ‘मधुमाला रमाइलो मिनी मेला २०८२’ मा पनि सहभागी भई चलचित्रको प्रचार गरेको छ। सोमबार सुनसरीको धरानमा देउसी भैलो आयोजना हुँदैछ। कार्यक्रममा सहभागी भएर टिम मङ्गलवार पोखरा र बुधवार काठमाडौँमा हुने देउसी भैलोमा पनि चलचित्रको प्रमोसन यात्रा जारी राख्नेछ।

फिल्म ‘सोल्टिनी’ २ घण्टा २५ मिनेट ३३ सेकेन्ड लामो छ र केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट पाएको छ। यसैले सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन्। चलचित्रका अग्रिम टिकट बिक्री सुरु भइसकेको छ र देशभरका हलहरूले आकर्षक शो तय गरेका छन्, जसले दर्शकमाझ उत्साह बढाएको छ।

अर्जुन सुवेदी निर्देशित यस फिल्मले अन्तरजातीय प्रेमकथालाई आधार बनाएर सामाजिक विभेद, समुदायबीचको असमानता र प्रेममा देखिने सङ्घर्षलाई संवेदनशील रूपमा प्रस्तुत गरेको छ।

फिल्ममा मुख्य भूमिकामा प्रकाश सपूत र परीक्षा लिम्बु छन्। उनीहरूसँगै विल्सन विक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, सबु गुरुङ, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आले लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर