साँच्चै रमणीय छ, अछामको साँफे । चारैतिर डाँडाले घेरेको समथर ठाउँ, परभली नदी र बुढीगंगा, त्यही बुढीगंगाको छेवैमा वैद्यनाथ धाम । साँफेको सुन्दरतामा यही वैद्यनाथ धामले थप सुन्दरता थपेको छ ।
वैद्यनाथ धामको प्रांगणमा सौर्य बत्ती लगाइएका छन् । प्रांगणको बीच भागमा मञ्च छ । भित्र चार ढोका भएको वैद्यनाथको मन्दिर छ । मन्दिर वरिपरि अष्ठ भैरव, मालिका, कालिका, पार्वतीका मन्दिर, माण्डपनाथ मन्दिर, चार देवलहरु छन् । मन्दिर परिसरमै यज्ञशाला छ । प्रतिक्षालय, बैठक कक्ष पनि मन्दिर परिसरमै बनाइएका छन् ।

वैद्यनाथको धार्मिक महत्त्व
रावणले तपस्या गरी शिवको बरदान पाएको ठाउँ भनेर चिनिन्छ वैद्यनाथ । पुराणअनुसार १० टाउका भएका रावणले आफ्नो लक्ष पाउनका लागि आफ्नै टाउको काट्दै हवन गर्दै गए । यसरी उनले नौ टाउका काटेर होमकुण्डमा हालिसक्दा समेत शिवको दर्शन नपाएपछि स–शरीर हमन गर्ने सोचेर दशौं टाउको काट्न लाग्दा शिवजीले वैद्यको रुपमा दर्शन दिए । वैद्य भएर रावणका सबै टाउकाहरु फेरि जोडेका कारण यस क्षेत्रको नाम वैद्यनाथ रहन गएको हो ।
रावणले शिवजीलाई बाचा गराई शिवलिंग लैजान माग गरे । बाचा अनुसार शिवले आफ्नोे लिंग दिए । सो कुरा पार्वतीले थाहा पाएपछि उनले अदृष्य शक्तिको प्रयोग गरी शिवलिंगलाई उठाउनै नसक्ने गह्रुंगो बनाइदिइन् । त्यसकारण रावणले लैजान नसकेपछि यो शिवलिंग यसै वैद्यनाथ क्षेत्रमा रहेको पुराणहरुमा उल्लेख गरिएको छ । १२ वटा ज्योतिर्लिंगमध्ये एउटा नेपालमा छ, जुन वैद्यनाथ धाममा अवस्थित छ । भारतले झारखण्डमा रहेको वैद्यनाथ धामलाई असली भनेर प्रचार गर्छ, तर पुराणहरुमा गरिएको व्याख्याअनुसार सबै कुरा अछामकै वैद्यनाथ धामसँग मेल खान जान्छ । वैद्यनाथ धाम क्षेत्रमा वृद्धनदी (बुढीगंगा), पद्मजा नदी (पाइली गाड), गोदावरी नदी (परभली नदी) र सरस्वती नदी (परभलीगाड) यस क्षेत्रमा मात्रै छन्, जुन पुराणमा व्याख्या गरिएका छन् ।’ यस्तै खेचरादी पर्वत (खप्तड) को फेदमा रहेको भन्ने उल्लेख भएको तर भारतमा खेचरादी पर्वत नभएको जानकारी पाइन्छ ।
साँफे हाटबजारबाट करिब तीन किलोमिटरको दुरीमा रहेको यस मन्दिरमा माघे संक्रान्ति र महाशिवरात्रीका दिन मेला लाग्ने गर्छ । उक्त मेलामा नेपालका साथसाथै भारतको उत्तराखण्ड, उत्तर प्रदेश, बिहारलगायतका क्षेत्रबाट भक्तजनहरु आउने गरेका छन् ।
उक्त मेलामा सशस्त्र प्रहरी बलले सलामी दिने प्रचलन छ । यस्तै राष्ट्र शान्तिका लागि भन्दै बटुकहरुले प्रत्येक बिहान दुई घण्टा रुद्राभिषेक गर्दछन् ।
वैद्यनाथ संग्रहालय पनि
मन्दिर परिसरभित्रै वैद्यनाथ संग्रहालय स्थापना गरिएको छ । विक्रम सम्वत् १८४८ सालमा जर्नेल अमरसिंह थापा नेतृत्वको टोलीले अछाम बिजयी गरेका बेला प्रयोग गरेका हातहतियार उक्त संग्रहालयमा राखिएका छन् । सो संग्रहालय स्थापनासँग सम्बन्धित रोचक किम्वदन्ती छ ।
अछाम बिजयपछि डोटीका लागि हिँडेको अमरसिंह थापा नेतृत्वको टोली हालको पूर्वीचौकी गाउँपालिका–५, काँडा पुगेपछि एकाएक आँखा नदेख्ने भएछ । फर्केर अछामतिर हेर्दा आँखा देख्ने, तर डोटीतिर जान खोज्दा नदेख्ने भएपछि राति काँडामै बास बसेर द्वीप प्रज्वलन गरी भगवतीको आराधना गरेर सुतेछन् ।
राति टोलीका एक सदस्यलाई भगवतीले सपनामा टोलीसँग भएका सम्पूर्ण हातहतियार वैद्यनाथ मन्दिरमा चढाएर जानू भनिछन् । सोहीअनुसार ३१ नाल बन्दुक, खुकुरीलगायतका हतियारहरु वैद्यनाथलाई चढाएका थिए । पुरातत्व विभागले पनि यो हतियार त्यति बेलैको भएको पुष्टि गरिसकेको छ ।
संग्रहालयमा पुजारीले लगाउने लुगा, पूजा गर्ने भाँडाहरु, गहना, शालिग्राम राखिएको छ । यसका साथसाथै अछामका महत्वपूर्ण धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलका तस्वीरहरु पनि राखिएको छ ।
नौमुठे गाई पनि मन्दिरभित्रै
अछामको नौमुठे गाई प्रसिद्ध छ । अगाडिको खुट्टाको खुरबाट मुठ्ठीले नाप्दै जाँदा जुरोसम्म नौ मुठ्ठी उचाइ मात्रै हुने भएकाले यस जातको गाईलाई ‘नौ मुठे गाई’ नामाकरण गरिएको हो ।
यसलाई विश्वकै सबैभन्दा सानो प्रजातिको गाई भनेर चिनिन्छ । अछाम, बझाङ, बाजुरा र डोटीमा मात्र पाइने यो गाई पोखराको गाई भैंसी फारममा पनि पालिएको बताइन्छ ।






