काठमाडौं,१८ असोज । लगातारको वर्षाका कारण सप्तरीमा एउटा रुखको हाँग्गा भाँचिँदा सामुदायिक रेडियो प्रसारक संघ नेपालका केन्द्रिय उपाध्यक्ष नवीन नरसिंह नेपालीको सवारी साधनमा ठूलो क्षति पुगेको छ।
शनिबार साँझ राजविराज स्थित रहेको बागेश्वरी मन्दिर अगाडी नेपालीको कार पार्किङ गरिराखिएको अवस्थामा एक रूखको ठूलो हाँग्गा अचानक खस्दा कारको अगाडिको सिसा (फ्रन्ट विन्डसिल्ड), रुफ रेल, रियर भ्यु मिरर फुटिएको तथा अगाडिको भागको बडी समेत क्षतिग्रस्त भएको बताइएको छ।

उपाध्यक्ष नेपालीका अनुसार, प्रारम्भिक रूपमा झण्डै १ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको अनुमान गरिएको छ। उनले भने, “कार रोकेर केही समयमै यत्रो ठूला हाँग्गा खसे, मानवीय क्षति नभएकैमा सन्तोष मान्नुपर्छ।”
स्थानीयवासीहरूले वर्षाको समयमा पुराना तथा जोखिमयुक्त रूख समयमै हटाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छन्। यस घटनाले पनि सार्वजनिक सुरक्षामा ध्यान दिन आवश्यक रहेको देखिएको छ।
कोशी टेलिभिजन तथा अपन एफ.एमका कार्यकारी निर्देशक समेत रहेका पत्रकार नेपालीले घटनाको समयमा सवारीमा कोही पनि नभएकोले मानवीय क्षति हुनबाट जोगिएको बताए । तर, पार्किङ क्षेत्रमा यस्ता जोखिमपूर्ण रूखहरूको निगरानी र व्यवस्थापन गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।






