काठमाडौँ,१९ असोज । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा उत्पन्न मनसुनजन्य विपद् तथा त्यसबाट प्रभावित जनजीवनका विषयमा छलफल गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक आइतबार सिंहदरबारमा बसेको छ।
प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टद्वारा जारी विज्ञप्तिअनुसार असोज १७ गतेदेखि परेको भीषण वर्षाबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

बैठकले मृतकका परिवारलाई मापदण्डअनुसार राहत वितरण गर्न र घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ।
त्यस्तै, खोज, उद्धार, राहत तथा पुनर्स्थापना कार्यलाई निरन्तरता दिने र प्रारम्भिक क्षतिको आकलनसहित प्रभावित क्षेत्र र जनसंख्या विवरण यथाशीघ्र प्राधिकरणमा पठाउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
बैठकले जोखिमयुक्त सडकहरूमा रात्रिकालीन बस सेवा नचलाउन तथा सडक मर्मत कार्य तत्काल अघि बढाउन निर्देशन दिएको छ। अत्यावश्यक सेवा र यात्रुवाहक सवारीसाधन सञ्चालन स्थानीय प्रशासनको समन्वयमा गर्न भनिएको छ।
खानेपानी, विद्युत् र सञ्चार सेवाहरू पुनः सञ्चालन गर्न सम्बन्धित सेवा प्रदायक संस्थालाई आवश्यक कदम चाल्न लेखी पठाइएको जनाइएको छ।
कार्यकारी प्रमुख भट्टका अनुसार मृतकका परिवारलाई तत्काल दुई लाख रुपैयाँ राहत वितरण गर्ने निर्णय भएको छ भने घाइतेहरूको उपचार निःशुल्क गरिनेछ।






