काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेलबाट रिहा भएपछि शीर्ष राजनीतिक दलका नेताहरूलाई ‘लुटेरा’ भन्दै उनीहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने माग गरेका छन्।
रिहाइपछि सार्वजनिक गरिएको अपिलमा उनले तीन पुस्तासम्म लुटमार गरेर जोडिएको सम्पत्ति निजी नभई राष्ट्रको भएको दाबी गर्दै भनेका छन्, “यस देशका लुटेराहरुले सजाय पाउने क्रम जारी छ। यिनको निजी सम्पत्ति यिनको होइन, देशको हो। बाँकी सम्पत्तिहरु पनि पूर्ण रूपमा राष्ट्रियकरण गरिनुपर्छ र यिनलाई कानुनी दायरामा ल्याउनुपर्छ।”

लामिछानेले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली र घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना व्यक्त गर्दै संयमता अपनाउन अपिल गरेका छन्। उनले राष्ट्रिय सुरक्षा निकाय, प्रहरी, न्यायालयलगायतका दस्तावेज तथा सम्पत्ति सुरक्षित राख्न आवश्यक रहेको औंल्याए।
उनले भने, “सरकारी सम्पत्तिहरु क्षति हुँदा राष्ट्रकै सम्पत्तिको क्षति हुन्छ। यसको संरक्षण गर्ने जिम्मेवारी हामी सबैको हो।”
जेनरेशन जेड (Gen Z) को माग र परिकल्पनाअनुसार मुलुकको नेतृत्व अघि बढ्नुपर्ने उनको भनाइ छ।
रिहाइ प्रक्रियाबारे उनले भनेका छन्, “आम नागरिकको दबाबपछि सरकारले कानुनबमोजिमको प्रक्रिया पूरा गरेपछि मात्र म रिहा भई सिधै आम नागरिक सामु आएको हुँ।”
लामिछानेको यो अपिल उनकी श्रीमती निकिता पौडेलको फेसबुकमार्फत सार्वजनिक भएको हो।






