भदौ २१, काठमाडौं– पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्धेश्वरमा १२ वर्षीया बालिकाको सामान्य ज्वरो र हेलचेक्र्याइँका कारण ज्यान गएको खबरले सबैलाई सदममा पारेको छ। ज्वरो आएपछि घरमै बस्दै आएकी बालिकालाई समस्या बढेपछि परिवारले प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ।
हाल देशभर ज्वरो, टाउको दुख्ने, शरीर कमजोर हुने र मांसपेशी दुख्ने जस्ता लक्षण देखिएका बिरामीको संख्या बढिरहेको छ। चिकित्सकहरूका अनुसार, यस्तो अवस्थामा ‘भाइरल ज्वरो होला, ठीक हुन्छ’ भनी घरमै बस्नु ठूलो गल्ती हुन सक्छ।

विशेषगरी खेतबारीमा काम गर्ने, घरमा वस्तुभाउ पाल्ने वा जंगल छेउछाउ बस्नेहरूमा स्क्रब टाइफसको जोखिम बढी रहेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका तथ्याङ्क अनुसार देशभर यस वर्ष ७५ जिल्लामा करिब ५ हजार जनामा स्क्रब टाइफस पुष्टि भइसकेको छ।
कैलाली, दाङ, चितवन, कञ्चनपुर, संखुवासभा, धादिङलगायत जिल्लामा बिरामीको सङ्ख्या बढी छ। खासगरी बर्खायाम सुरु भएदेखि संक्रमण तीव्र रुपमा फैलिएको छ र गत एक महिनामा मात्र १ हजार २३७ जनामा नयाँ संक्रमण देखिएको छ। यो सङ्ख्या गत वर्षभन्दा पनि बढी हो; सन् २०७८ मा १ हजार ५२ जनामा पुष्टि भएको थियो।
तर, स्क्रब टाइफसबाट कति जनाको मृत्यु भयो भन्ने स्पष्ट तथ्याङ्क भने सरकारसँग छैन। राष्ट्रिय तथ्यांक प्रणालीमा यसबारे जानकारी राख्ने व्यवस्था अहिलेसम्म नबनाइएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार संक्रमण बढेसँगै सरकारले अस्पतालहरूमा ५० हजार परीक्षण किट पठाइसकेको छ। ‘५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएपछि परीक्षण किटको मात्रा बढाइएको छ,’ उनले भने।
काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा पछिल्लो सातामा दैनिक १० जनासम्म स्क्रब टाइफसको बिरामी भेटिएका छन्। अस्पतालका प्रमुख फिजिसियन डा. विमल शर्माका अनुसार अस्पतालमा ज्वरोका कारण आउने ३० देखि ४५ प्रतिशत बिरामीमा स्क्रब टाइफस पाइएको छ।
स्क्रब टाइफस संक्रमण मुख्यतः मुसामा पाइने किरणाले टोक्दा फैलिन्छ। लक्षणहरू भाइरल ज्वरो जस्तै देखिने भएकाले रोग पहिचानमा समस्या पनि भइरहेको छ। शरीरमा रातो वा नीलो रङका बिबिरा देखिएमा चिकित्सकलाई तुरुन्त देखाउनु पर्ने बताइएको छ।
यो रोग महामारीको रूपमा फैलिन भने सक्दैन, तर उपचार नपाए जटिल समस्या र मृत्युको जोखिम बढ्छ। सहरी क्षेत्रमा पनि पार्क, दुबो भएको ठाउँमा खाली खुट्टाले हिँड्ने मानिसहरूमा यो रोग देखिन थालेको छ।
स्वास्थ्यकर्मीहरूले यस्ता लक्षण देखिए चिकित्सकसँग समयमै सम्पर्क गर्न र आफ्ना परिवार र समुदायलाई सचेत गराउन आग्रह गरेका छन्।






