सर्लाही – सर्लाहीको मलंगवास्थित प्रादेशिक अस्पतालमा दुई दिनपछि आजदेखि सम्पूर्ण स्वास्थ्य सेवा पुनः सुचारु भएको छ। सोमबार सवारी दुर्घटनामा परेका एक बिरामीका आफन्तले अस्पतालका अर्थोपेडिक विशेषज्ञ डा. कृष्णजङ्ग साहसंग सामान्य विवाद भएपछी आक्रोशित चिकित्सक तथा स्वास्थ्यकर्मीले मंगलबारदेखि आकस्मिकबाहेक सबै सेवा ठप्प पार्दै दोषीमाथि कारबाही र सुरक्षाको माग गरेका थिए।
पहिला डा. साहले बिरामीका आफन्तहरुमाथि दुर्व्यवहार गरेपछि बिरामीका आफन्तहरु आक्रोशित बनेको र बिबाद उत्पन्न भएको हो तर जिल्ला प्रहरी कार्यालयमा बुधबार साँझसम्म चलेको छलफलमा दुवै पक्षबीच सहमति भएपछी बिहीबार बिहानैदेखि अस्पतालको नियमित सेवा सञ्चालनमा आएको हो। छलफलका क्रममा पहिला डा. साहले आफ्नो गल्ति स्वीकार गरेपछि बिरामी पक्षकाले पनि आफूबाट भएको गल्तिहरुलाई स्वीकार गरेका थिए।

अस्पतालका सूचना अधिकारी डा. अविनाश सिंहका अनुसार प्रहरीको समन्वयमा भएको सहमतिअनुसार चिकित्सकहरू आफ्नो नियमित ड्युटीमा फर्किएका हुन्।
दुई दिन ओपीडीसहितका सेवा ठप्प हुँदा सर्वसाधारण बिरामी ठूलो समस्यामा परेका थिए। सरकारी अस्पताल बन्द रहँदा निजी अस्पताल तथा क्लिनिकहरूले बिरामी तान्न अस्पताल गेटमै सक्रियता देखाएका थिए। आज सेवा खुलेसँगै अस्पतालमा बिरामीको भीड बढेको छ।






