काठमाडौं । श्रमिकहरूका लागि नयाँ न्यूनतम पारिश्रमिक साउन १ गतेदेखि लागू भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बिहीबार बसेको त्रिपक्षीय बैठकले चिया बगान बाहेकका सबै क्षेत्रका श्रमिकका लागि मासिक तलब १९ हजार ५५० रुपैयाँ तोक्ने निर्णय गरेको हो।

श्रमिक प्रतिनिधि, रोजगारदाता तथा सरकारी पक्षबीच भएको छलफलपछि उक्त निर्णयमा पुगिएको हो। अघिल्लो न्यूनतम तलबभन्दा २ हजार २ सय ५० रुपैयाँ बढी यो दर सहमतिका आधारमा तय गरिएको हो।

न्यूनतम तलब निर्धारण समितिका अध्यक्ष प्रदीप कोइरालाको संयोजकत्वमा बसेको बैठकले लामो समयको छलफलपछि सर्वस्वीकृत निर्णय लिएको हो। चिया बगानमा भने न्यूनतम पारिश्रमिकबारे अझै थप छलफल आवश्यक भएको समितिको भनाइ छ।

श्रममन्त्री शरतसिंह भण्डारीले विगतमा श्रमिक र रोजगारदाता बीच पारिश्रमिक निर्धारणको विषयमा सहमति जुट्न नसकेको भए पनि यसपालि तीन पक्षको लचकता र संयोजनले साझा निर्णय सम्भव भएको बताए।

बुधबार रातिसम्म ट्रेड युनियन र रोजगारदाता पक्षबीच सहमति जुटेको थिएन। ट्रेड युनियनले २१ हजारको माग राखेका थिए भने रोजगारदाता १९ हजार ५ सयमै अडिएका थिए। अन्तिममा ५० रुपैयाँ थपेर १९ हजार ५५० मा सहमति बनेको हो।

सरकारले अब तय भएको नयाँ न्यूनतम तलब सबै क्षेत्रमा कार्यान्वयन गर्न नीतिगत रूपमा आवश्यक पहल गर्ने बताएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर