काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा आउने पूर्वराष्ट्रपति विद्या भण्डारीको घोषणाले पार्टीमा ध्रुवीकरण बढाएको बताएका छन्।

च्यासलमा जारी नेकपा एमाले सचिवालय बैठकमा ओलीले यस्तो ध्रुवीकरण रोक्न सबै एकतावद्ध हुनुपर्ने समेत धराणा राखे।

‘उहाँको प्रवेशले पार्टीभित्र ध्रुवीकरण बढायो,’ ओलीको भनाइ छ, ‘हामीले गणतन्त्र गौरवका रुपमा उहाँलाई सम्मान गरेका थियौं, त्यसबेलासम्म उहाँ राजनीतिमा आउने कुनै छेकछन्द थिएन। उहाँले पार्टीमा आउने औपचारिक घोषणा मात्र होइन, अध्यक्ष मै आउने घोषणा गरिसक्नु भएको छ। पार्टीभित्र ध्रुवीकरण रोक्न एकताबद्धरुपले जानुपर्छ।अब संस्थागत निर्णयको बेला आयो।’

ओलीको उक्त भनाइपछि विभिन्न विषयमा बहस भएको र सचिवालय बैठक केही लम्बिएको एक नेताले जानकारी दिए।

१० मिनेटको खाजा ब्रेकपछि बैठक फेरि सुरु भएको छ। लम्बिएको बैठकमा विधान अधिवेशनमा भण्डारीलाई प्रतिनिधि बनाउने/नबनाउने लगायतका विषयमाथि छलफल हुनेछ।

पूर्वराष्ट्रपति भण्डारीले आफू एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरिसकेकी छिन्। आफू एमाले अध्यक्ष बन्नका लागि राजनीतिमा सक्रिय भएको उनको भनाइ छ।

तर, एमाले अध्यक्ष ओलीले भने उनलाई नेतृत्व हस्तान्तरण गर्न नसकिने सार्वजनिकरुपमै बताइसकेका छन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर