पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १७ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ जना, पाटनमा १० र बीपी कोइराला धरानमा १३ जनाले आवेदन दर्ता गरेका छन्।

देशका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि तीव्र प्रतिस्पर्धा हुने भएको छ।

पाटन, पोखरा, कर्णाली र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बन्न ५५ जनाका आवेदन परेका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा विजय अर्याल, प्राडा शेषनन्द सञ्जेल, डा उत्सव चापागाईं, प्राडा प्रमोदकुमार सर्राफ, डा पवनजंग रायमाझी, डा पुजन रोकाया, प्राडा सूर्यमान मेन्याङ्बो, डा एलिजा श्रेष्ठ, डा डबलबहादुर धामी, डा कालु शर्मा सुवेदी, डा विष्णुप्रसाद शर्मा, डा प्रमोद यादव, प्राडा श्रीकृष्ण गिरी, डा लक्ष्मीनारायण सिंह र डा अरुणकुमार सिंहले आवेदन दिएका छन्।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा अर्जुन आचार्य, डा प्रदीप घिमिरे, प्राडा माया लामा, प्राडा चण्डिका पण्डित, प्राडा भरतबहादुर खत्री, प्राडा राकेशकुमार वर्मा, प्राडा राजेश अधिकारी, प्राडा नारायणसिंह गुरुङ, प्राडा प्रेमराज ज्ञवाली, प्राडा विधाननिधि पौडेल, प्राडा इश्वर शर्मा कँडेल, प्राडा दिपकराज पौडेल, डा श्रीकृष्ण श्रेष्ठ, डा कालु शर्मा सुवेदी, प्राडा विष्णुप्रसाद शर्मा, डा रामेशराज कोइराला, र डा लक्ष्मीनारायण सिंहको आवेदन गरेको छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा सृजना श्रेष्ठ, प्राडा प्रह्लाद कार्की, प्राडा संगीता भण्डारी, प्राडा गेहनाथ बराल, प्राडा बुद्धिप्रसाद पौडेल, प्राडा विष्णुप्रसाद शर्मा, प्राडा पनकुमार शर्मा, डा दीपक थापा मगर, डा दिपेन्द्ररमण सिंह, डा लक्ष्मीनारायण सिंहले आवेदन दिएका छन्।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा गौरीशंकर साह, प्राडा प्रह्लाद कार्की, प्राडा संगीता सिंह भण्डारी, प्राडा ज्ञानेन्द्र गिरी, प्राडा पशुपति चौधरी, डा रोशन पोखरेल, प्राडा कृष्णकुमार राई, प्राडा रोहितप्रसाद यादव, प्राडा विक्रमप्रसाद श्रेष्ठ, प्राडा सञ्जिवकुमार शर्मा, प्राडा विष्णुप्रसाद शर्मा, डा रामेशराज कोइराला र डा लक्ष्मीनारायण सिंहको आवेदन परेको छ।

आवेदन दिनेमा महिला २ जना मात्र छन्।

उपकुलपति छनोट समितिले कर्णालीको उपकुलपतिका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्साशात्र विषयमा स्नातकोत्तर, सहप्रध्यापक वा मन्त्रालयमा दशौँ तहका काम गरेको हुनुपर्ने र अन्य तीन प्रतिष्ठानका हकमा चिकित्साशात्र विषयमा स्नातकोत्तर, प्राध्यापक वा मन्त्रालयमा एघारौँ तहमा काम गरेको हुनुपर्ने मापदण्ड बनाएको छ।

उपकुलपति छनोट समितिमा संयोजक रहेका स्वास्थ्य मन्त्री प्रदीप पौडेल अहिले थाइल्यान्डमा छन्। उपकुलपति छनोट प्रक्रिया अघि बढेको छैन। छनोट समितिका सदस्य डा आरपी बिच्छा मन्त्रीले बैठक बोलाएपछि थप प्रक्रिया अघि बढ्ने बताउँछन्।

चर्चित र विवादित नाम
चिकित्सा शिक्षा आयोगका पूर्वउपाध्यक्ष प्राडा श्री कृष्ण गिरी पनि उपकुलपति बन्ने लाइनमा छन्। चिकित्सा शिक्षा आयोग गठन भएपछि उपाध्यक्ष बनेका डा गिरी हाडजोर्नी विशेषज्ञ हुन्। चिकित्सा शिक्षालाई सुधार गर्न ठोस निर्णय लिन सफल डा गिरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि आवेदन दिएका छन्।

स्वास्थ्य अनुसन्धान परिषदका पूर्वअध्यक्ष प्राडा गेहनाथ बरालले पनि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि आवेदन दिएका छन्।

स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव पदबाट अवकाश पाएका डा दिपेन्द्ररमण सिंह पनि उपकुलपतिका लागि प्रयासरत छन्। अवकाश पाउनेबित्तिकै उनलाई स्वास्थ्यमन्त्री प्रदीप पौडेलले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अध्यक्षमा नियुक्त गरेका थिए। कांग्रेसनिकट डा सिंह पटकपटक नियुक्ति पाउने कर्मचारीमा पर्छन्। उनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि आवेदन दिएका छन्।

पूर्व स्वास्थ्य सचिव डा रोशन पोखरेल पनि उपकुलपति बन्ने प्रयासमा छन्। मनोरोग विशेषज्ञ डा पोखरेलले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति बन्न आवेदन दिएका छन्।

मुटुरोग विशेषज्ञ डा रामेश कोइराला पनि उपकुलपति बन्न आवेदन दिएका छन्। शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत डा कोइरालाले बीपी कोइराला र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै आवेदन दिएका छन्।

घरमा पालेको कुकुरको उपचार खर्चको बिल समेत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट तिराउन लगाएपछि यसअघि चर्चामा आएकी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वयपकुलपति डा संगीता भण्डारी विवादित भएकी थिइन्। उपकुलपति हुँदा उनको काममा असन्तुष्टि जनाउँदै कर्मचारीले आन्दोलन गरेका थिए। उनले बीपी कोइराला र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै उपकुलपतिका लागि आवेदन दिएकी छन्।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति प्राडा ज्ञानेन्द्र गिरीले पुन उपकुलपतिमा आवेदन दिएका छन्। उपकुलपति नियुक्ति लगत्तैदेखि विवादमा परेका उनीविरूद्ध बीपीका चिकित्सक, विद्यार्थी र कर्मचारीले लामो आन्दोलन गरेका थिए। सोहीबेला उनले नामका अघि लेख्दै आएको प्राध्यापक उपाधि नक्कली भएको कुरा उठेको थियो। पछि कुनै पनि विश्वविद्यालयले ‘प्राध्यापक’ को उपाधि नदिएको पुष्टि भएको थियो।

‘उपकुलपति छनोटमा राजनीतिकरण गर्नुहुँदैन’
त्रिभुवन विश्व विद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा उपकुलपति छनोट गर्दा राजनीतिकरण नगर्न सुझाव दिन्छन्।

‘उपकुलपति निकै जिम्मेवार पद हो। समग्र स्वास्थ्य क्षेत्रको सुधारमा नै उपकुलपतिको भूमिका हुन्छ। यस्तो पदमा राजनीतिकरण नगरी क्षमता भएका व्यक्तिलाई छनोट गर्नुपर्छ,’ माथेमा थप्छन् क्षमता प्रर्दशन गरिसकेको व्यक्तिलाई छान्नुपर्छ।’

पहिला नै कुनै जिम्मेवार पदमा बसेर काम गरिसकेको, आफनो क्षमता प्रदर्शन गरिसकेको व्यक्तिलाई उपकुलपतिको जिम्मेवारी दिनुपर्ने उनको भनाइ छ।

‘पूर्वउपकुलपति छ भने त सरकारलाई छान्न झन् सजिलो हुन्छ। उपकुलपति हुँदा कस्तो काम गरेका थिए? कार्यकाल कस्तो थियो सबै पत्ता लगाउन सकिन्छ,’ उनी भन्छन्, ‘राजनीतिकरण थाल्नु भयो भने स्वास्थ्य विज्ञान प्रतिष्ठानले कहिल्यै राम्रो उपकुलपति पाउँदैनन्।’

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर