राजविराज । मधेश प्रदेश सरकारले मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त गरेका बाराका पत्रकार कमल कुमार उपाध्याय भ्रष्टाचार मुद्दापछि निलम्बनमा परेका छन् ।
बाराको पचरौता नगरपालिकासँगको मिलेमतोमा उनले सार्वजनिक खरिद ऐनलाई छलेर विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमितता गरेको अभियोगमा उनीमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी निलम्बित भएका हुन् ।

नगरपालिकाको दुई वटा ठेक्काको टेण्डर सूचना राष्ट्रिय स्तरको दैनिकमा प्रकाशन गर्नुपर्नेमा केएस मल्टीपरपोज प्रालिका अध्यक्ष समेत रहेका उपाध्यायले रेकर्डका लागि मात्र दैनिक पत्रिकामा एकप्रति प्रिन्ट गराएर बील भरपाइ बनाइ ३ लाख ५२ हजार ५६० रूपैयाँ हिनामिना गरेका अख्तियारको ठहर छ।
अख्तियारले सोही रकम बराबरको जरिवाना असुल उपर गर्नुपर्ने सहित कैदको सजायको समेत माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेका छन्।






