उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले लोकतन्त्रविरुद्ध एक थरी मानिसहरू भ्रम फिँजाउन लागि परेको बताउनुभएको छ ।
आइतबार ललितपुरमा दशौं धनबहादुर स्मृति अन्तर्राष्ट्रिय अफिसियल कराँते प्रतियोगिता– २०८२ को उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकतन्त्र तथा प्रजातन्त्र आएर मुलुकमा केही हुन नसकेको भाष्य निर्माण गर्दै एक थरी मानिसहरूले नकारात्मक भ्रम फिँजाइरहेको बताउनुभयो । उहाँले लोकतान्त्रिक प्रणाली हजारौँ नेपाली वीर सपूतहरूको सङ्घर्षबाट प्राप्त गरेको जनअधिकार रहेको बताउनुभयो । सिंहले लोकतान्त्रिक प्रणाली र जनअधिकारलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनअधिकारलाई सुरक्षित राख्दै देश विकासको कार्यलाई अगाडी बढाउनुपर्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “अहिले डेमोक्रेसी आएर, प्रजातन्त्र आएर के भयो र ? के पायौँ र ? भनेर एक थरीले भ्रम फिँजाउन लागिरहेका छन् । डेमोक्रेसी सिस्टम जनताको अधिकारको पुर्न बहाली गर्नको लागि हजारौँ नेपाली वीर सपूतहरूको सङ्घर्षबाट प्राप्त गरेको जनअधिकार हो । यो जनअधिकारलाई सुरक्षित राख्दै, संरक्षण गर्दै अझ देश विकासको कार्यलाई अगाडि बढाउनको लागि प्रयास गर्नुपर्छ ।”
उहाँले स्वर्गीय धनबहादुर महर्जनले जनअधिकारको गरेको सङ्घर्ष र खेलकुदको विकासको लागि गरेको कामको स्मरण गर्दै सम्मान व्यक्त गर्नुभयो । – न्युज एजेन्सी नेपाल






