शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले रामायणले नेपाली समाजलाई जोड्ने काम गरेको बताउनुभएको छ ।
प्राध्यापक राजेन्द्र सुवेदीको कृति भुमिका र समालोचनको सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रामायणले नेपाली कृति खोजेर पढ्ने वातावरण बनाउनुका साथै संस्कृतको प्रभुत्वलाई पण्डित र संस्कृतज्ञहरुको बीचबाट नेपाली भाषामा लेखेर महत्वपूर्ण काम गरेको बताउनु भयो । नेपाली राजनीतिज्ञले पनि नेपाली साहित्य पढ्ने र कृतिका बारेमा समीक्षा गर्ने काम पछिल्लो समय देखिँदै आएको मन्त्री पन्तको भनाइ थियो । उहाँले पछिल्लो समयमा मोदनाथ प्रश्रितसँगै मोहन वैद्य, मोहनविक्रम सिंह लगायतका नेताले पनि कृति समीक्षाका विषयमा कलम चलाएको स्मरण गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘रामायणको बारेमा हामीले प्रश्रितजीसँग बहस ग¥यौं । के हो त यसको ? रामायणले नेपाली समाजलाई अन्धविश्वासमा लग्यो भनेर एकथरि भन्छन् । होइन रामायणले नेपाली समाजलाई जोड्ने काम ग¥यो । नेपाली साहित्यमा यो पढ्नुपर्छ भनेर नेपाली कृति खोजेर पढ्ने काम ग¥यो । घरघरमा लोकप्रिय भयो । र नेपाली भाषालाई लेख्य रुपमा पनि र त्यसभन्दा अघि संस्कृतको प्रभुत्वलाई पण्डित र संस्कृतज्ञहरुको बीचबाट नेपाली भाषामा लेखेर नेपाली भाषामा साहित्य कृतिलाई पु¥याउने काम ग¥यो । प्रश्रितजीसँग हामीले बहस ग¥यौं । त्यतिबेला उहाँले सुदर्शन भन्ने नाममा देवकोटाको बारेमा सुस्केराको विशेषांकमा समीक्षा गर्नुभएको छ । पछि मोहन वैद्यले पनि समीक्षा गर्नुभएको छ । यद्यपी नेपालका राजनीतिक नेताहरुले साहित्य त पढ्थे तर समीक्षामा कलम चलाउने कमै छन् । खासगरी त्यसमा साहित्यिक पृष्ठभूमीबाटै गएको हुनाले प्रश्रितजीको हामी भूमिका देख्छौं । मोहन वैद्यको पनि दार्शनिक र समीक्षामा देख्छौं । पछिल्लो कालखण्डमा मोहनविक्रमले पनि समीक्षाका विषयमा कलम चलाउनुभएको छ ।’

उहाँले पछिल्लो समय माक्र्सवादी कोणबाट समाजलाई चेतनशील कोणबाट कृतिहरुको विश्लेषण गर्ने काममा प्राध्यापक सुवेदीको भुमिका पनि स्मरण गर्नुभयो । —न्युज एजेन्सी नेपाल






