काठमाण्डौं,१ जेठ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रको एकीकृत निर्देशन जारी गर्ने क्रममा रहेको बताउनुभएको छ ।
नेपाल बीमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सवमा बिहीवार आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले छरिएर रहेका विभिन्न निर्देशन तथा निर्देशिका हरूले कार्यान्वयनमा पारेको जटिलताका कारण ती अस्पष्टतालाई चिर्न छरिएर रहेका निर्देशनहरूलाई एकीकृत गरी बीमा क्षेत्रको एकीकृत निर्देशन जारी गर्न लागिएको बताउनु भयो ।

उहाँले विमक र बीमा प्राधिकरणभित्र पनि छरिएर रहेका निर्देशनका कारणले प्रभावकारी नियमन र सुपरिवेक्षणलाई चुस्तता दिन नसकेको बताउनु भयो । उहाँले उक्त एकीकृत निर्देशनलाई आगामी आर्थिक वर्षको साउनदेखि नै कार्यान्वयन गर्ने लक्ष्यका साथ काम भइरहेको जिकिर गर्नुभयो । उहाँले उक्त एकीकृत निर्देशनले बीमा क्षेत्रलाई विधि पालन गराउनमा अझ प्रभावकारी रूपमा सहयोग गर्ने अपेक्षा राख्नुभयो ।
उहाँले भन्नुभयो, “बीमा क्षेत्रमा निकै लामो समयदेखि रहेका कानून अस्पष्टता हटेर बिमा ऐन २०७९ र बिमा नियमावली २०८१ लागू भएसँगै एउटा बलियो कानूनी आधार सिर्जना भएको छ । बीमा ऐन नियमावलीका व्यवस्थाहरू कार्यान्वयनका लागि प्राधिकरणले विभिन्न विनियम, निर्देशिका, मापदण्ड, कार्यविधि, निर्देशन जारी गरेको छ । त्यसरी छरिएर रहेका विभिन्न निर्देशन, निर्देशिका हरूले कार्यान्वयनमा पारेको जटिलता, विशेष गरी विमकका साथीहरूसँग, बिमा प्राधिकरणभित्र पनि छरिएर रहेका निर्देशनका कारणले हामीले प्रभावकारी नियमन र सुपरीवेक्षणलाई चुस्तता दिन नसकेको विषयलाई विगतदेखि नै पटक पटक आइरहेको कुरालाई अस्पष्टतालाई चिर्न हामी त्यसरी छरिएर रहेका निर्देशनहरूलाई एकीकृत गरी बीमा क्षेत्रको एकीकृत निर्देशन हामी जारी गर्ने क्रममा छौँ । उक्त एकीकृत निर्देशनले बिमा क्षेत्रलाई विधि पालन गराउनमा अझ प्रभावकारी रूपमा सहयोग गर्ने हाम्रो अपेक्षा छ ।
सम्भवतः हामी आगामी आर्थिक वर्षको साउनदेखि नै कार्यान्वयन गर्नेतर्फ लागिपरेका छौँ ।”
उहाँले बीमा क्षेत्रको नियमन र नीति कार्यान्वयनमा उक्त एकीकृत निर्देशनले प्रभावकारी भुमिका खेल्ने विश्वास समेत व्यक्त गर्नुभयो । – न्युज एजेन्सी नेपाल






