काठमाण्डौं । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगलाई पूर्णता दिएको छ। सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा महेशकुमार थापा (संखुवासभा) नियुक्त भएका छन्। आयोगका सदस्यहरूमा अच्युत प्रसाद भण्डारी (जाजरकोट), डा. टीका प्रसाद ढकाल (पाँचथर), पदम बहादुर शाही (जुम्ला) र कुमारी कौशल्या ओझा (कञ्चनपुर) रहेका छन्। यस्तै, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा पूर्वमुख्यसचिव लिलादेवी गड्तौला नियुक्त भएकी छन्। यस आयोगका सदस्यहरूमा गोपाल नाथ योगी (सल्यान), अग्नी प्रसाद थपलिया (झापा), सृजना पोख्रेल (काठमाडौं) र बिनिता नेपाली (कास्की) रहेका छन्। पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिको सिफारिसलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको हो ।
यसैगरी, सरकारले गभर्नर सिफारिस समितिको पुनर्गठन गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोजक रहेको समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डेलाई सदस्य बनाएर पुनर्गठन गरेको बैठक पछि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनु भयो ।
डा. विश्व पौडेलको राजीनामापछि पुनर्गठन गरिएको यो समितिबाट यसअघि डा. विजयनाथ भट्टराईले पनि राजीनामा दिएका थिए ।

साथै, मन्त्रिपरिषद्ले सहसचिव शोभाकान्त पौडेललाई सचिवमा बढुवा गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह ५८ वर्षे उमेरहदका कारण गत बुधबार अनिवार्य अवकाशमा गएपछि रिक्त सचिव पदमा पौडेललाई बढुवा गरिएको एक मन्त्रीले जानकारी दिनुभयो।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर