राजविराज। राजविराज नगरपालिका भित्र रहेको बिटौरी र ब्लक जग्गा धनीहरुले राजविराज नगरपालिकामा धर्ना बस्ने सहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
विटौरी तथा ब्लक जग्गाधनी पीडित संघर्ष समितिले मंगलबार राजविराजमा एक पत्रकार सम्मेलन गर्दै दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

संघर्ष समितिका संयोजक इर्साद अन्सारीले बैशाख १८ गते देखि २२ गते सम्म चरणवद्ध दैनिक दबाबमुलक कार्यक्रम गरिने बताए ।

उनका अनुसार बैशाख १८ गते राजविराज नगरपालिका भित्रका घर÷घर र पसल पसलमा कालो झण्डा झुण्डयाउने, १६ गते स्थानीय गजेन्द्र चौकमा माँगका पक्षमा हस्ताक्षर संकलन अभियान चलाउने, २१ गते बिहान १० बजे नापी कार्यालय राजविराजमा १ घण्टा धर्ना दिने र २२ गते बिहान १० बजे राजविराज नगरपालिका कार्यालयमा १ घण्टा धर्ना दिने कार्यक्रम तय गरिएको संयोजक अन्सारीले बताए ।

उनले राजविराज नगरपालिकाको बिटोरी र ब्लक जग्गाधनी लालपूर्जाबाट बञ्चित रहेको बताउदै ५ हजार भन्दा बढी परिवारलाई अविलम्ब लालपूर्जा प्रदान राज्यले गर्नुपर्ने, राजविराज बसपार्क अविलम्ब संचालन गर्नुपर्ने, राजविराज हटियामा निर्माणाधीन व्यवसायिक कम्पलेक्सको निर्माण कार्य अविलम्ब सकाएर व्यापारीलाई हस्तान्तरण गर्नुपर्ने माग गरे ।

यसैगरी खाडो नदी तटबन्ध क्षेत्रका जग्गाहरूको नापी अविलम्ब गर्नुपर्ने, राजविराज–कंचनपुर सडक खण्डको निर्माण कार्यमा देखिएका समस्या अविलम्ब समाधान गर्नुपर्ने, सीमा नाकामा विषादी परिक्षणका लागि क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने, लामखुट्टे नियन्त्रणका लागी नगर क्षेत्रमा अविलम्ब औषधी छर्कने व्यवस्था गर्नुपर्ने, सप्तरीको सिमानाका क्षेत्रमा वर्षों देखि बन्द रहेका छोटी भंसार कार्यालयहरू अविलम्ब संचालन गर्नुपर्ने माग राखी आन्दोलन उत्रिएको संयोजक अन्सारीले जानकारी दिए ।

उनले शान्तिपूर्ण संघर्षको कार्यक्रमबाट माग सम्बोधन नभए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी पनि उनले दिए । दोश्रो चरणको जारी आन्दोलनबाट पनि सुनुवाइ नभए बैशाख २४ गते समिक्षा गरि तेस्रो चरणको आन्दोलन घोषणा गरिने उनले बताए ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर