राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूले सिंहदरबारभित्रै प्रदर्शन गरेका छन् ।

निषेधित क्षेत्र तोड्ने भनी घोषित आन्दोलनका क्रममा सरकारको ध्यान बानेश्वरतर्फ केन्द्रित गराएर राप्रपा नेताहरूले सिंहदरबारभित्रै पम्प्लेट प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोडेर बानेश्वर प्रवेश गर्ने आशंकाका बीच ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । तर, शीर्ष नेताहरूले सिंहदरबारभित्रै विरोध प्रदर्शन गरे ।

दिउँसो करिब १ बजेतिर राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायतले आफूहरूलाई कार्यालयबाट बाहिर निस्किन नदिइएको सूचना बाहिर ल्याए ।

त्यतिबेला शाहीका अलावा सांसदहरू ध्रुवबहादुर प्रधान, दीपकबहादुर सिंह र विना जैसवाल संसदीय दलको कार्यालयमा थिए । आन्दोलनको दिन भएकाले सिंहदरबारभित्र र बाहिर दुवैतिर सुरक्षा तैनाथी बढाइएको छ ।

तर, राप्रपा संसदीय दलको कार्यालयभित्रै प्रहरी प्रवेश गरेको थिएन ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा ज्ञानेन्द्र शाहीले कार्यालयको ढोकामा आएर प्रहरीसँग संवाद गरिरहेको देखिन्छ । प्रहरीतर्फ हेरेर शाहीले भनेका छन्– ‘संसदीय दलको कार्यालयमै घेरा हाल्नुभएन नि, हामी पनि जनताबाट चुनावै लडेरै आएको हो नि !’

त्यसपछि उनले प्रहरी कमान्डर को हो भन्ने जिज्ञासा राखेका थिए । ‘को छ डीएसप’साप आउनुभाछ ? कमान्डर हजुर हो ?’ शाहीले प्रश्न गरेको भिडियोमा देख्न सकिन्छ ।

त्यसपछि प्रहरी कमान्डरले शाहीलाई जय नेपाल भन्छन् । जय नेपाल फर्काएपछि शाहीले ‘संसदीय दलको कार्यालयमै त आउनुभएन नि !’ भनेको भिडियोमा सुनिन्छ ।

जवाफमा प्रहरी अधिकृतले ‘म कहाँ यहाँ आ’छु सर ? म छिर्‍या छैन हजुरको कार्यालयमा’ भन्छन् । त्यसपछि ज्ञानेन्द्र शाही ‘हैट्’ भनेर भित्र छिर्छन् । यो भिडियो हेर्दा प्रहरीले त्यस्तो धरपकड गरेको देखिँदैन ।

त्यसपछि अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ लगायत नेताहरू सिंहदरबार छिरेका थिए । लिङ्देन, तामाङलगायत पुग्दा सिंहदरबारमा सञ्चारकर्मीको समेत भीड बढिसकेको थियो ।

त्यसपछि उनीहरू निर्बाध ढंगले कार्यालयबाट निस्किएर गेटतर्फ लागेका थिए ।

त्यसैक्रममा सिंहदरबारभित्रै नेताहरूले पम्प्लेट झिकेर देखाउन थाले । अध्यक्ष लिङ्देनले ‘तीनकुने घटनाको न्यायिक छानबिन आयोग गठन गर’ भन्ने नारा लेखिएको पम्प्लेट बोकेका थिए ।

उनका अलावा बुद्धिमान तामाङ, ज्ञानेन्द्र शाही, दीपक सिंह लगायतले पनि पम्प्लेट निकालेर देखाएका थिए । यसबाट पनि उनीहरू सिंहदरबारभित्रै प्रदर्शन गर्ने पूर्व तयारीका साथ त्यहाँ पुगेका थिए भन्ने देखिन्छ ।

त्यसो त राप्रपाले घोषित रूपमै निषेधित क्षेत्र तोड्ने भनेको थियो । बिहीबार जारी राप्रपाको विज्ञप्तिमा उक्त विषय उल्लेख थियो ।

‘पार्टीको मुद्दाको स्थापनाका पक्षमा तथा पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा. धवल शमशेर राणालगायत प्रहरी हिरासतमा रहेका सम्पूर्ण नेता/कार्यकर्ताको नि:शर्त रिहाइ र गत चैत १५ गते तीनकुनेमा राज्यपक्षबाट भएको दमनको निष्पक्ष न्यायिक छानबिन आयोग गठनका लागि दबाब दिन वैशाख ७ गते काठमाडौंमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने,’ विज्ञप्तिको बुँदा नम्बर १ (ख)मा भनिएको थियो ।

त्यसपछि शनिबार गृहमन्त्रालयले विज्ञप्ति नै जारी गरेर निषेधित क्षेत्र तोडेमा कानूनबमोजिम कारबाही गरिने जनाएको थियो ।

‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोलि मिति २०८२/०१/०७ गतेका दिन प्रचलित कानूनबमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरूप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ गृहको विज्ञप्तिमा भनिएको थियो, ‘संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानूनबमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ । साथै, समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानूनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ ।’

निषेधित क्षेत्रमा राप्रपा नेताहरूले देखाएको पम्प्लेट प्रहरीले तत्कालै खोसेर च्यातेको थियो । त्यसपछि उनीहरूलाई सिंहदरबार गेटबाटै प्रहरी नियन्त्रणमा लिइयो । नियन्त्रणमा लिने क्रममा केही नेताले गणतन्त्रविरोधी नारा लगाएका थिए ।

प्रहरीले नियन्त्रणमा लिनुअघि लिङ्देनले सरकारको नजिकै गएर सुनाउनका लागि सिंहदरबारभित्रै प्रदर्शन गरिएको बताएका थिए ।

‘यो सकारले मानिसको बोल्न पाउने, लेख्न पाउने, प्रदर्शन गर्न पाउने अधिकारलाई खुम्च्याउँदै लगेको छ । जनताबाट सरकार झनझन् टाढा हुँदै जाने अवस्वथा सिर्जना गरेको छ । त्यसैले सरकारको नजिकै गएर प्रदर्शन गरौं र सुनाऔं भनेर प्रतीकात्मकरूपमा यो कार्यक्रम आयोजना गरेका हौं,’ लिङ्देनले भनेका थिए ।

लिङ्देनको भनाइबाट पनि सिंहदरबारभित्रै प्रदर्शन गर्ने उनीहरूको पूर्व निर्धारित कार्यक्रम थियो भन्ने देखिन्छ । त्यसो त बिजुलीबजार क्षेत्रमा भएको प्रदर्शनमा खासै ठूलो सहभागिता देखिएन ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर