काठमाण्डौं,२३ चैत्र । जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच एकीकरणको टुंगो लगाउन दुई दलको निर्णायक वार्ता आइतबार हुँदैछ । जनमतका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीबीच पार्टी एकताका लागि अन्तिम चरणको वार्ता हुन लागेको हो ।

जनमतका अध्यक्ष राउतसँग निर्णायक वार्ता हुने नाउपाका संरक्षक चौधरीले जानकारी दिए । राउत र चौधरीको वार्ताअघि त्यही दिन बिहान ८ बजे दुईदलीय कार्यदलको बैठक बोलाइएको छ ।

बैठकका लागि बर्दियाको अमरपुर स्थान निर्धारण गरिएको छ । नाउपाको चाहनाबमोजिम बर्दियामा दुई दलको बैठक राखिएको हो । वैशाख पहिलो साता एकता हुनेगरी निर्णयमा पुगिने दुई दलीय कार्यदलका एक सदस्यले जानकारी दिए ।

नेताहरुको दाबीअनुसार पार्टीको नाम, अध्यक्ष, चुनाव चिह्न लगायतमा दुवै पक्ष सहमति नजिक पुगिसकेका छन् । एकतापछिको पार्टी अध्यक्ष डा. राउत, सह- अध्यक्ष रञ्जिता श्रेष्ठ, संरक्षक रेशम चौधरी हुनेगरी एउटा विकल्पमा छलफल भएको छ । साथै, दुई अध्यक्ष प्रणाली र पहिलो बरियतामा राउत र दोस्रोमा श्रेष्ठ हुनेगरी अर्को विकल्पमा पनि छलफल भइरहेको कार्यदल सदस्यहरुले बताएका छन् ।

नाउपाका संस्थापक अध्यक्ष चौधरी हाल उक्त दलका संरक्षक छन् ।

एकीकृत पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ राख्ने र चुनाव चिह्न ‘ढकिया’ राख्नेगरी नेताहरु सहमतिउन्मुख छन् । नाउपाको चुनाव चिह्न ढकिया राख्न जनमत सहमत भएको छ ।

अभिवादनका लागि ‘जय नागरिक’ शब्दावली चयन गरिएको छ । जनमत अध्यक्ष राउत र नाउपा संरक्षक चौधरी पटकपटकको संवादपछि दुई दलबीच एकता गर्ने निचोडमा पुगेका थिए ।

त्यसपछि दुई दलको एकता कार्यदल बनेको थियो ।

जनमतबाट अब्दुल खान, शरदसिंह यादव र बालगोविन्द चौधरी रहेको कार्यदल बनाइएको थियो । नाउपाले गंगाराम चौधरी, सुनिता चौधरी र रामलाल डंगौरा रहेको कार्यदल गठन गर्‍यो ।

कार्यदल तहमा एकपटक मात्रै संवाद भएको छ । आइतबार हुने बैठकले एकताका लागि थप छलफल गर्ने नाउपाले गठन गरेको कार्यदलका संयोजक गंगाराम चौधरीले जानकारी दिए ।

आइतबारको छलफल मुख्यगरी केन्द्रीय समितिको आकार, संघ र प्रदेश सभामा पदीय भूमिकाको बाँडफाँट लगायतका विषयमा छलफल हुने भएको छ । जनमतको संघीय संसदमा ६ र प्रदेशमा १६ सांसद छन् भने नाउपाको संघमा ४ र प्रदेशमा १२ सांसद छन् ।

जनमतको आधार क्षेत्र मुख्यगरी मधेशमा छ भने नाउपाको सुदूरपश्चिममा छ । प्रतिनिधि सभामा जनमतको संसदीय दलको नेता पार्टी अध्यक्ष राउत छन् भने नाउपाको संसदीयको नेता गंगाराम चौधरी छन् । ‘प्रदेश र संघीय संसदमा कस्तो हैसियतमा रहने कार्यदलले टुंगो लगाउँछ,’ नाउपाका संरक्षक चौधरीले भने ।

जनमतमा केन्द्रीय सदस्यको संख्या ७ सयसम्म बनाउन सकिने व्यवस्था छ । जनमतको विधामा कार्यकारणी सदस्य ६० र सचिवालय १७ जनाको हुने प्रावधान छ ।

नाउपामा केन्द्रीय समितिको संख्या ३५१ सदस्यसम्म बनाउन सकिने व्यवस्था भएको उक्त दलका कार्यदल संयोजक चौधरी बताउँछन् । नाउपामा हाल २१ जना केन्द्रीय सदस्य छन् ।

‘केन्द्रीय समितिको आकार, पदाधिकारीको संख्या, विधान लगायतमा पर्सिको बैठकमा छलफल गर्छौं,’ जनमतका उपल्लो तहका एक नेताले भने, ‘धेरै कुरा मिलिसकेको छ । पार्टी संरचना र कार्यसमितिमा रहने संख्याबारे अबको बैठकबाट सहमति जुटाउँछौं ।’

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर