काठमाडौँ । बलिउड अभिनेता सलमान खानलाई बेलाबेला हत्याको धम्की आइरहन्छ।
त्यसो त यसबीच उनीविरुद्ध आक्रमणका प्रयास पनि नभएका होइनन्। गत वर्ष बान्द्रास्थित सलमानको घरमा गोली हानिएको थियो।

यसैबीच उनले आफूलाई आइरहने हत्याको धम्कीबारे पहिलोपटक सञ्चारमाध्यमसामु बोलेका छन्। जुन निकै भावुक सुनिएको छ।
हालै आफ्नो फिल्म ‘सिकन्दर’को प्रचारका क्रममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनलाई आउने ज्यान मार्ने धम्कीबारे प्रश्न गरिएको थियो।
जवाफमा सलमानले भनेका छन्, ‘भगवान्, अल्लाह, सबै कुरा उनमै निर्भर छ। जति उमेर लेखिएको छ, त्यति पाइने हो। बस कुरा यही हो।…’
सलमान खानलाई लामो समयदेखि लरेन्स ग्याङबाट ज्यान मार्ने धम्की आइरहेको छ।
गत वर्ष अप्रिल १४ मा बान्द्रामा सलमानको घरबाहिर भएको गोली प्रहारको जिम्मा पनि लरेन्स ग्याङले नै लिएको छ।
यसपछि पनि सलमालाई धेरैपटक धम्की आयो। त्यसपछि उनको सुरक्षा बढाइएको थियो।
सलमानका नजिकका साथी तथा एनसीपी नेता बाबा सिद्दीकीको हत्यापछि उनको सुरक्षा कडा पारिएको थियो।
धम्कीका बीचमै उनले फिल्म ‘सिकन्दर’ छायांकन गरेका थिए।
सेटमा पनि उनको सुरक्षा बढाइएको थियो र बाहिरी व्यक्तिलाई आउन प्रतिबन्ध लगाइएको थियो।
फिल्म सिकन्दर यही मार्च ३० मा रिलिज हुँदै छ।
एआर मुरुगादोसले निर्देशित फिल्ममा सलमान र रश्मिका मन्दाना मुख्य भूमिकामा छन्।






