राजविराज, १३ चैत । सप्तरीको खड्क नगरपालिकाले स्थानीय किसानको सिँचाइ मिटरको बक्यौता महसुल बुझाएको छ ।नगरपालिकाले दोस्रो पटक नेपाल विद्युत् प्राधिकरण बोदेबरसाइन वितरण केन्द्रलाई किसानको कृषि मिटरको बक्यौता महसुल बुझाएको हो ।
नगरपालिकामा रहेका सम्पूर्ण किसानको सिँचाइ मिटर वापतको १२ लाख रुपैयाँ बक्यौता महसुल चेकमार्फत बुझाएको केन्द्र प्रमुख इन्जिनियर संयोग विश्वकर्माले जानकारी दिए । यसअघि पनि नगरपालिकाले सिँचाइ मिटरवापतको ७ लाख ३३ हजार ७ सय ५ रुपैयाँ बक्यौता बुझाएको थियो ।
आगामी दिनमा पनि नगरपालिकाले नै सिँचाइ मिटरवापतको बक्यौता भुक्तानी गर्ने नगरउपप्रमुख रिता कुमारी चौधरीले बताइन् । नगरपालिका कृषि क्रान्तिको बाटोतिर अग्रसर हुँदै गएको उनले बताइन् ।
नगरपालिकाले किसानहरूलाई सिंचाइमा सहयोग गर्ने उदेश्यले कृषि मिटरको वक्यौता निशुल्क गरिएको जानकारी उनले दिइन् ।







