राजविराज,१२ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय सरकारको जनअपेक्षा विरुद्धको निर्णय भएको मधेश प्रदेश सरकारका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले बताएका छन ।
यो निर्णय केवल व्यक्तिगत अन्याय होइन, देशकै सफलता, विकास र जनअपेक्षा माथिको प्रहार हो। लोकतन्त्रमा सरकारको शक्ति भन्दा माथि कानुन र न्याय हुन्छ। जनताले गर्व गर्ने, देशको हितमा योगदान दिने व्यक्तिलाई सरकारले अपमानजनक रूपमा हटाउनु आपत्तिजनक मात्र होइन, सरकारको गलत प्राथमिकताको प्रमाण पनि हो। पूर्वमन्त्री साहले सामाजिक सञ्जाल फेसबुकमा आज(मंगलवार) स्टाटस लेख्दै भनेका छन।

आज देशभर जनअसन्तोष बढ्दो छ। यो असन्तोषलाई सम्बोधन गर्नुपर्ने बेलामा भ्रष्टाचार, अकर्मण्यता र राजनीतिक सौदाबाजीलाई प्रश्रय दिने सरकार उल्टै जनताको हितमा खटिएका कर्मठ कर्मचारीलाई बर्खास्त गर्दैछ। यस्तो निर्णयले प्रतिगामी शक्तिहरूलाई बल पुग्ने र देशलाई अस्थिरतातर्फ धकेल्ने खतरा देखिन्छ। उहाँले लेखेका छन ।

जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सचिव समेत रहेका पूर्वमन्त्री साहले सरकारलाई सुझाव दिदै भनेका छन— जनताको भावना बुझ्नुस्, घमण्ड होइन, सुशासनको मार्ग अपनाउनुस्। कुलमान घिसिङलाई पुनः जिम्मेवारीमा पुनस्र्थापना गरेर देशको हितमा न्यायोचित निर्णय लिनुस्। देश उज्यालो बनाउने नेतृत्वलाई सम्मान गरौं, अपमान होइन।






