१७२ यात्रु र चालक दलका ६ सदस्य रहेको विमानमा आगो सल्किँदा १२ जना सामान्य घाइते भएको अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले जनाएको छ।
डेनभर अन्तर्राष्ट्रिय विमानस्थलले सामाजिक सञ्जाल एक्समा विमानमा आगो लाग्नासाथ सबै यात्रुलाई बाहिर निकालिए पनि १२ जना भने सामान्य घाइते भएकाले अस्पताल लगिएको जनाएको छ।
सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर गरिएको श्रव्यदृश्यमा टर्मिनलनजिकै भुइँमा जेटको वरिपरि धुवाँ उडिरहेको र आपत्कालीन सेवा आइपुग्दा यात्रुहरू पखेटामा उभिएको देखिन्छ।

कोलोराडोबाट डलास-फोर्ट वर्थका लागि उडेको अमेरिकी एयरलाइन्सको उडान नम्बर १००६ लाई डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गरिएको एफएएले जनाएको छ।
एफएएले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अवतरणपछि र गेटमा ट्याक्सी चलाउने क्रममा एउटा इन्जिनमा आगो लाग्यो र यात्रुहरूलाई स्लाइडको प्रयोग गरेर विमानबाट बाहिर निकालियो।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी उड्डयन एजेन्सीहरूको खर्च कटौती गर्ने प्रयास र शृंखलाबद्ध घटनापछि सुरक्षाबारे चिन्ता व्यक्त भइरहेका बेला यो घटना भएको हो।
एफएएले घटना अनुसन्धानका लागि निर्देशन दिइसकिएको बताएको छ।
विमान आगलागी हुँदाको भिडिओ–






