जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरणको बहस औपचारिकतामा प्रवेश गरेको छ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच पटक-पटकको अनौपचारिक छलफलपछि जनमतले यो बहसलाई औपचारिक ढंगले अगाडि बढेको छ ।
महोत्तरीको बर्दिवासमा फागुन २५ गते बसेको जनमत पार्टीको केन्द्रीय समिति बैठकले पार्टी एकताका विषयमा कार्यदल गठन गरेको छ । राउतको अध्यक्षतामा बसेको केन्द्रीय कमिटी बैठकले नागरिक उन्मुक्तिसहित विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग एकीकरण गर्ने विषयमा कार्यदल गठन गरिसकेको छ ।

जनमतका उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा जनमतका प्रवक्ता डा. शरदसिंह यादव र बाल गोविन्द चौधरीसहितको तीन सदस्यीय कार्यदल गठन भएको छ । जनमत पार्टीका प्रवक्ता यादव तराई–मधेशका पुराना दलभन्दा पनि नयाँ उदीयमान शक्तिसँग एकता गर्न कार्यदल बनेको बताउँछन् ।
‘हामीले तराई–मधेशको एजेन्डा, विचार, सिद्धान्त मिल्ने दलसँग एकता गर्न खोजेका हौं,’ जनमतका प्रवक्ता यादवले भने, ‘तराई–मधेशकै पुराना राजनीतिक दलभन्दा पनि नयाँ उदीयमान शक्तिसँग एकता गर्न खोजेका हौं ।’
तराई-मधेशलाई आधार मानेर विभिन्न मधेशवादी राजनीतिक दल क्रियाशील रहे पनि ती दलहरू विगतमा सत्ताको राजनीतिमा मात्र केन्द्रित भएकाले ती दलको साटो नयाँ उदीयमान दलसँग एकता गर्न लागिएको उनले बताए ।
‘अहिलेसम्म हाम्रो अध्यक्षज्यू र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीज्यूबीच पार्टी एकता गर्ने विषयमा अनौपचारिक छलफल हुँदै आएको थियो,’ यादवले लोकान्तरसँग थपे, ‘हामी एकता गर्न तयार छौं । त्यसका लागि हामीले कार्यदल पनि गठन गरिसकेका छौं ।’
केन्द्रीय समितिको बैठकबाट एकता गर्ने र कार्यदल गठनको निर्णय गरेर आफूहरू एक स्टेप अगाडि बढेको उनले बताए । आगामी चैत ६-७ गते काठमाडौंमा नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक बसेर कुनै न कुनै निर्णय हुनसक्ने उनले खुलाए ।
‘पार्टीको संरक्षक रेशम चौधरीजी हुनुहुन्छ । तर, अध्यक्ष उहाँको श्रीमती रञ्जिता श्रेष्ठ भएकाले केही प्राविधिक समस्या देखिएको छ,’ यादवले थपे, ‘नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठकले कुन खाले निर्णय गर्छ, त्यस आधारमा छलफल थप अघि बढ्छ होला ।’
नागरिक उन्मुक्तिका संरक्षक चौधरी पार्टी एकताका लागि तयार रहे पनि पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ भने तयार देखिएकी छैनन् । त्यसकारण जनमत तयार रहे पनि नागरिक उन्मुक्तिले के निर्णय गर्ने हो, त्यसकै आधारमा थप प्रक्रिया अघि बढ्नेछ ।
‘कुन मोडेलमा एकीकरण गर्ने भन्ने विषयमा अहिले दुई दलबीच केही पनि सहमति भएको छैन,’ यादवले थपे, ‘नागरिक उन्मुक्ति पार्टीको अध्यक्षले मान्नुभयो भने एक किसिमको मोडेल बन्छ होला । उहाँले मान्नुभएन भने अर्को कुनै मोडेलमा पनि सहमति हुनसक्छ ।’
नेपाली कांग्रेस र नेकपा एमालेले २ दलको मात्र सिन्डिकेट लाद्न तथा थ्रेसहोल्डको प्रावधानमा संशोधन गरेर नयाँ कानून ल्याउन खोजेपछि पहिचानवादी नयाँ दलहरूबीच एकीकरण गर्न लागिएको उनले खुलाए ।
खास गरेर थारू र मधेशी समुदायबीच नयाँ सिराले एकता गरेर ठूलो सन्देश दिन तथा तराई मधेशको ठूलो पार्टीकोरूपमा स्थापित हुनका लागि पनि एकता प्रक्रिया अघि बढेको जनमतका नेताहरू बताउँछन् ।
दुवै दलबीच एकता भए प्रतिनिधि सभामा १० सीटसहित तराई मधेशको ठूलो र संसदमा छैटौं (नेकपा एसबराबर) दल बन्नेछ ।
यता नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डित पार्टी एकताको विषयमा सीके राउतसँग भएको छलफलका विषयमा केही जानकारी नरहेको बताउँछन् ।
‘म पार्टीको स्थापनाकालदेखि नै लागेको मान्छे हो । तर, अहिले सञ्चारमाध्यममा आएजस्तो सीके राउतजी र हाम्रो पार्टीबीच एकताको विषयमा भएको कुराकानीबारे केही जानकारी छैन,’ पण्डितले भने, ‘हामी त हाम्रो पार्टी नै जोगाएर लाने हो । अहिले कुनै पनि दलसँग एकता गर्नु आवश्यक छैन ।’






