‘१८ वर्षपछि मेरो निम्ति पहिलोपटक सर्वाधिक खुसीको दिन, चाँडै गौरव गर्ने दिन पनि आउँदै छ’
पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन विमानस्थलबाट निर्मल निवाससम्म जाँदा स्वागतमा देखिएको जनउपस्थितिपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका शब्द हुन् यी।

उनले भनेको जस्तो ‘त्यो गौरव गर्ने दिन’ आउला नआउला। तर, आइतबार (फागुन २५) मा पोखराबाट काठमाडौं आउँदा पूर्वराजा ज्ञानेन्द्रले पाएको स्वागतबाट राजावादी राम्रैसँगै हौसिएको यस भनाइले पुष्टि गर्छ।
थापाले १८ वर्षअघिको सम्झना किन गरे त?
२०६१ माघ १९ गते ज्ञानेन्द्रले सत्ता हातमा लिएर आफ्नै नेतृत्वमा मन्त्रिमण्डल बनाएका थिए।
त्यसबेलाका गृहमन्त्री थिए, कमल थापा।
ज्ञानेन्द्रको सो कदमले संसदवादी दलहरूलाई आक्रोशित बनायो। अनि, शान्तिपूर्ण आन्दोलन गरिरहेको सात दलीय मोर्चा भूमिगत सशस्त्र संघर्षरत माओवादीसँग सम्बन्ध बढाउन पुग्यो।
२०६२ मंसिर ७ गते सात राजनीतिक दल र माओवादीबीच१२ बुँदे सम्झौता भयो।
सो सम्झौता उनै ज्ञानेन्द्रविरुद्ध आन्दोलन गर्नका लागि भएको थियो। सहमतिअनुसार २०६२ चैत २४ गतेदेखि देशभर संयुक्त आन्दोलन सुरू भयो।
सात दल र माओवादी मिलेर गरिएको आन्दोलनमा प्रहरी दमनका कारण ठाउँठाउँमा गोली लागेर केहीको ज्यान गयो। कतिका अंगभंग भए। तर, आन्दोलन दबाउन सम्भव भएन, झन् चर्कियो। आन्दोलनमा जनता यसरी सडकमा उत्रिए कि देशका कुनै पनि सहर र बजारमा प्रहरीले दमन गर्न सक्ने अवस्थै रहेन।
काठमाडौंको चक्रपथ जनसागरले भरियो।

अन्ततः २०६३ वैशाख ११ गते ज्ञानेन्द्रले आफूले हातमा लिएको सबै अधिकार जनतामै फिर्ता गरेको घोषणा गर्नुपर्यो।
त्यसपछि अन्तरिम सरकारले २०६४ चैत २८ गते पहिलो संविधान सभाको चुनाव ग¥यो। २०६५ जेठ १५ गते बसेको पहिलो संविधान सभाले राजतन्त्र अन्त्य गर्दै गणतन्त्र स्थापना भएको घोषणा गर्यो।
गणतन्त्र स्थापना भएको १६ वर्षसम्म राजावादीहरू उत्साहित हुने गरी समर्थक बटुल्न सकिरहेका थिएनन्।
तर, आइतबार सिनामंगलदेखि निर्मल निवासम्म जुन उपस्थिति देखियो, यसले राजावादीलाई उत्साहित नबनाउने कुरै भएन। र, यसले गणतन्त्र ल्याएका दलहरुलाई झस्काएको छ।
फागुन ७ गते ज्ञानेन्द्रले दिएको वक्तव्यपछि आजको उपस्थितिका लागि माहोल बनाउन थालिएको थियो। राप्रपा, राप्रपा नेपाल र दुर्गा प्रसाईँ समूहले काठमाडौँ उपत्यका आसपास मात्र होइन, अन्य जिल्लाबाट समेत जुलुसका सहभागीहरुलाई बटुलेर ल्याएका थिए। यतिसम्म कि उनीहरुबीच ज्ञानेन्द्रको विश्वास कसले जित्ने र को बढी नजिक हुने भन्ने प्रतिस्पर्धा नै चल्यो।
झण्डै एक महिना पोखरा बसेका ज्ञानेन्द्रलाई सडकमा हिँडाएर पनि आममानिसको ध्यान आकर्षित गर्ने प्रयास गरिएको थियो। पोखराबाट फर्कँदा स्वागत गर्न भनेरै जिल्ला–जिल्लामा कार्यकर्ता परिचालन गरिएको थियो।
राप्रपाका एक केन्द्रीय सदस्यका अनुसार उपत्यका आसपासका जिल्लाबाट मानिस ल्याउन एक महिनादेखि नै गृहकार्य गरिएको थियो।
दबाबमा गणतन्त्रवादी
कांग्रेस–एमाले गठबन्धनले जनतामा आशा दिने काम नगरेकोले पूर्व राजाले टाउको उठाउन मौका पाएको माओवादी प्रवक्ता अग्नि सापकोटा बताउँछन्।
सरकारकै कारण यो अवस्था आएको र राजावादीको उक्साहटमा ज्ञानेन्द्र हौसिएको सापकोटाको भनाइ छ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा बसेर जनतामा डेलिभरी दिन सक्नुभएन। सरकार सेवा प्रवाह र सुशासनमा असफल भएको छ। यही मौकामा राजावादी केही हुन्छ कि भनेर हौसिएका छन्,’ उनले नेपालखबरसँग भने, राजतन्त्र फर्कने त सम्भावनै छैन।’
ज्ञानेन्द्रको पक्षका भएको प्रदर्शनले समेत गणतन्त्रलाई अझै बलियो बनाउन दबाब दिएको उनको बुझाइ छ।
‘जनताले उन्नत लोकतन्त्रको अपेक्षा गरेका छन्, परिवर्तन र अग्रगमनको निम्ति,’ उनले थपे, ‘यिनै जनता भोलि यही लोकतन्त्रको रक्षार्थ लाग्छन्, हेर्नुहोला।’
सत्तारुढ दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली ज्ञानेन्द्रको स्वागतमा तीनथरी मानिस देखिएको बताउँछन्।
‘एकै खालका मान्छे छैनन्। केही प्रतिबद्ध पुरातनपन्थीहरू छन्। जस्तो, जसले हिजो पञ्चायतकालमा दरबारको छत्रछाया पाएका थिए, अनुचित लाभ उठाएका थिए, उनीहरूलाई अहिले पनि त्यो विरासत फर्काउन सकिन्छ कि भन्ने आशा छ,’ ज्ञवालीले भने, ‘एउटा पंक्ति एकदमै अवसरवादी छ। त्यो दुर्गा प्रसाईँले जम्माा गरेको भीड भनौँ न। ती २० लाखसम्मको ऋण मिनाह हुन्छ, बैंकको पैसा तिर्नुपर्दैन भन्नेजस्ता हावादारी कुराको पछि लाग्या छन्। तेस्रो, जनताको सानो तप्का असन्तुष्ट छ। अहिलेका कतिपय राजनीतिक विसङ्गतिहरूबाट चित्त दुखाइरहेको पनि छ। त्यो निश्चित उद्देश्यले भन्दा पनि आफ्नो असन्तुष्टि कहीँ न कहीँ पोख्न चाहन्छ।’
ज्ञानेन्द्रको स्वागत गर्न पुगेका मानिसलाई हेरेर धेरै तरङ्गित हुनुपर्ने जरुरी नभएको उपमहासचिव ज्ञवाली बताउँछन्।
‘यसले कुनै राजनीतिक परिवर्तन ल्याउँदैन,’ उनले थपे, ‘लोकतन्त्रवादीहरू आफ्ना कामलाई सुधार गर्दै जाने, जनतामा डेलिभरी दिँदै जाने हिसाबले अघि बढ्नुपर्छ।’
आगामी दिनमा जनताको पक्षमा परिणाम दिने गरी काम गर्न दबाब दिएको उनले स्वीकार गरे।
त्यसो त, यस्ता कार्यक्रम आगामी दिन हुन थाले ती हिंसात्मक हुन सक्ने कुरामा सरकार सजग रहनुपर्ने अवस्था आएको ज्ञवालीको भनाइ छ।
‘यस्तै कार्यक्रमबाट हौसिएर यदि योजनाबद्ध ढंगले कानुन हातमा लिने, अराजकतातिर लैजाने, संविधानविरोधी गतिविधि गर्ने हुन थाल्यो भने सरकार त्यसमा सतर्क हुनुपर्छ,’ उनी भन्छन्।
सत्तारुढ दल नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले ज्ञानेन्द्रको पक्षमा देखिएको समर्थनले तर्सनुपर्ने अवस्था नभए पनि गम्भीर ढंगले लिनुपर्ने बताए।
‘संविधानलाई मुख्य केन्द्रविन्दुमा राखेर हाम्रा आचरण, व्यवहार र कार्यशैलीमा सुधार गर्नुपर्ने र जनतासँगको सम्बन्धलाई थप सुनिश्चित गर्नुपर्नेछ,’ उनले भने, ‘हामीले जनताले भनेकै समावेशिता, धर्म निरपेक्षता अनुसार संविधान बनाएका छौँ। यतिबेला जसले संविधानमा हस्ताक्षर गर्नुभएन, उहाँहरू पक्षमा हुनुहुन्छ। राप्रपाले हस्ताक्षर गरे पनि संविधानको खिलाफमा असंवैधानिक गतिविधि गरिरहेको छ। यो संविधानसम्म मात्र जोडिएन। सिंगो नेपाली जनताको भावनासँग जोडिएको हुनाले यसमा चुप बस्ने कुरा हुँदैन।’
कांग्रेसले गणतन्त्र ल्याउनेदेखि संविधान जारी गराउन खेलेको भूमिकाले पनि ज्ञानेन्द्रको गतिविधि मौन बसेर हेर्न नसकिने उनको भनाइ छ।
‘अहिले ज्ञानेन्द्रको पक्षमा माहोल देखिएको भनिएको छ, माहोल त दुई किसिमले बन्छ, एउटा स्वतःस्फूर्त। अर्काे आह्वानबाट। आज काठमाडौंमा देखिएको २ हजार जतिको जुलुसले पूर्वराजाले म राजगद्दीमा फर्कन्छु, भनेको त म व्यवस्था बदल्छु संविधान मान्दिनँ भन्या हो। त्यसकारण उनको भूमिकालाई सरकारले पर्ख र हेरको अवस्थामा राखेको छ,’ उनले भने।






