राजविराज, फागुन १५ । पुस्तौदेखी बिटौरी र ब्लक जग्गामा बसोवास गर्दै आएका राजविराज नगरपालिकाका बासिन्दाहरु विभिन्न सात बुदे माग राख्दै बिहीबारदेखी सडक संघर्षमा उत्रेका छन् । नगरवासीले उक्त समस्या समधानको माग गर्दै यसअघि दर्जनौं पटक राजविराज नगरपालिका तथा प्रमुख जिल्ला अधिकारी मार्फत सरोकारवाला निकाय र प्रधानमन्त्रीसम्म ज्ञापनपत्र पठाई ध्यानाकर्षण गराउदा पनि कुनै सुनुवाई नभएकाले बाध्य भई चरणबद्ध आन्दोलनको घोषणासहित सडक संघर्षमा उत्रेको संघर्ष समितिले जनाएको छ ।
संघर्ष समितिका संयोजक इर्साद अन्सारीले यसलाई निर्णायक आन्दोलनको संज्ञा दिदै अब माग पूरा नभएसम्म आन्दोलन नरोकिने जनाएका छन् । उनले बिचौलिया र भू–माफियाको चलखेलका कारण पनि स्थानीय सरकार र प्रशासनदेखी संघीय सरकारसम्म यस विषयमा उदासिन रहेको आरोप लगाए ।

संघर्ष समितिले नगरको करिब ६८ विगहा क्षेत्रफलमा बिटौरी तथा ब्लक जग्गामा पुस्तौदेखी बसोवास गर्दै आएका करिब ५ हजार २ सय परिवार अहिलेसम्म लालपूर्जा पाउन नसकेको भन्दै अविलम्ब लालपूर्जा उपलब्ध गराउनु पर्नेप्रमुख माग उठाएका छन् ।
यस्तै राजविराज हटियामा निर्माणाधीन व्यवसायीक कम्प्लेक्सको निर्माण कार्य यथास्रिघ सम्पन्न गरी व्यवसायीलाई हस्तान्तरण, नयाँ बसपार्कको अधुरो निर्माण कार्य अविलम्ब पूरा गरि संचालन, राजरंगशालाको स्तरोन्तरी, खाँडो नदी तटबन्ध क्षेत्रका जग्गाको नापी र राजविराज–कंचनपुर सडक खण्ड निर्माण कार्यमा देखिएको समस्याको समाधान लगायतका मागहरु पनि संघर्ष समितिले अघि सारेका छन् ।
यसअघि राजविराज नगरपालिकामा कार्यवाहक नगर प्रमुख इसरत परविनको अध्यक्षतामा आयोजित एक कार्यक्रममा पूर्वमन्त्री एवं राजविराज नगरपालिकाका पूर्व मेयर अनिस अन्सारीले बिटौरी र ब्लक जग्गा समस्याको अविलम्ब समाधान नगरिए नगरपालिका कार्यालयमा तालाबन्दी, राजविराज बजार बन्द र चक्काजाम लगायतका कार्यक्रम गरिने चेतावनी दिएका थिए ।
उक्त मागहरु पुरा गराउन दबाब दिने उद्देश्यले स्थानीय शिव मन्दिरको प्राङ्गणबाट सयौंको संख्यामा निस्केको जुलुस स्थानीय जनआन्दोलन चौकमा पुगि बिरोध सभामा परिणत भएको थियो । बिरोधसभामा संघर्ष समितिका संयोजक अन्सारी, पूर्व गृहराज्य मन्त्री रामकुमार चौधरी, उद्योग बाणिज्य संघ सप्तरीका पूर्व अध्यक्ष मनोज मुन्धडा, बौद्धिक अपाङ्गता अभिभावक संघका अध्यक्ष जगदीश अर्याल, समाजसेवी सुवि यादव, काँग्रेसका युवा नेता शम्भुलाल देव, बिरेन्द्र साह, प्रभातकुमार ललन, इन्द्रकुमार देव, अनिल देव, नेवि संघ सप्तरीका सभापति राकेश ठाकुर लगायतले ज्ञापन पत्र बुझाएको लामो समय बितिसक्दा पनि स्थानीय सरकार र प्रशासन समस्या समाधानका लागि गम्भिर नबनेको र भिडन्त तथा रक्तपातको स्थती सृजना गर्न खोजेको आरोप लगाए ।
पहिलो चरणमा संघर्ष समितिले फागुन १८ गते राजविराज बजार बन्द, फागुन २१ गते नगरका घर तथा पसल पसलमा कालो झण्डा झुण्ड्याउने, फागुन २५ गते राजविराज नगरपालिका कार्यालयमा तालाबन्दी, फागुन २८ गते राजविराजस्थित नापी र मालपोत कार्यालयमा तालाबन्दी तथा चैत ४ देखी गजेन्द्र चौकमा अनिश्चितकालिन रिले अनशन लगायतका आन्दोलन कार्यक्रम घोषणा गरेको छ ।
यसअघि सप्तरीका सम्पूर्ण राजनीतिक दलहरुको तर्फबाट समेत बिटौरी र ब्लक जग्गामा नगर स्थापना कालदेखी नै बसोवास गर्दै आएका नगरवासीलाई अविलम्ब लालपूर्जा प्रदान गर्नु पर्ने भन्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत प्रधानमनत्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाइएको थियो ।
यता राष्ट्रिय मुक्ति पार्टीको काठमाडौंमा सम्पन्न केन्द्रिय समितिको बैठकले समेत नगरवासीको पीडासँग जोडिएको बिटौरी र ब्लक जग्गाको समस्या समाधान गरि अविलम्ब लालपूर्जा प्रदान गर्नु पर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष राजेन्द्र महतोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि केन्द्रिय समिति बैठकको निर्णय सार्वजनिक गर्दै बिटौरी तथा ब्लक जग्गाको लाल पूर्जा बितरण प्रक्रिया अविलम्ब सुरु गर्नु पर्ने सरकारसँग माग गरिएको जनाएका छन् ।






